विश्व मानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

समष्टिगत रुपमा मानव अधिकारको संरक्षणमा जुट्न अभिप्रेरित गरौं (“stand up for someoneÚs rights today”) भन्ने नाराका साथ विश्वव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउन लागिएको ६८ औं विश्व मानव अधिकार दिवस १० डिसेम्बर २०१६ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालको संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन  र प्रभावकारी कार्यान्वयनको सुनिश्चिततालाई जोड दिएको छ । संविधान र कानूनद्वारा प्रदत्त आधारभूत मानव अधिकारको प्रत्याभूतिका लागि मुलुकमा विभिन्न संस्थागत संरचनाहरु तथा नीतिगत एवम् कानूनी व्यवस्थाहरु गरिएका छन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्वर्द्धनसम्वन्धी नीतिहरुको क्रमश कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने कार्यलाई राज्यको दायित्वको रुपमा स्थापित गरिएको छ ।

मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा ठोस योगदानको लागि संविधानले राष्ट्रिय मानव अधिकार आयोग  लगायतका  संवैधानिक तथा कानूनी निकायको व्यवस्था गर्नु आफैमा सन्तोषको विषय हो । यसै परिप्रेक्षमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग समेत गठन भई क्रियाशील रहेका छन् । यसप्रकारका कार्यले हामीलाई  नेपालमा मानव अधिकारको यथोचित सम्मान, संरक्षण र प्रवर्द्धनको प्रक्रियालाई अझ सुदृढ वनाउन मार्ग प्रशस्त गरेको छ ।

अन्तमा, यस दिवसले सम्पूर्ण मानवजातिका साझा अधिकारहरु सबैलाई सधैंभरि प्रत्याभूत गर्न विश्वका सबै मुलुकहरुलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ ।

धन्यवाद !

२०७३ साल मंसिर २५ गते शनिबार ।