प्रेस विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू नेपालको राष्ट्रिय दिवसका रुपमा रहेको संविधान दिवस, २०७४  का अवसरमा नेपालका लागि विभिन्न मित्रराष्ट्रहरुका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुका लागि राष्ट्रपतिको कार्यालयद्वारा आज मिति २०७४ साल असोज ३ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित साँस्कृतिक कार्यक्रम तथा रात्रिभोज कार्यक्रममा सरीक हुनुभयो । उक्त समारोहमा आमन्त्रित सबैलाई राष्ट्रपति भवनमा स्वागत गर्नुहुँदै सम्माननीय राष्ट्रपतिज्यूले संविधानले राजनीतिक संक्रमण समाप्त गर्नुका साथै लोकतन्त्रको संस्थागत विकासका निमित्त स्थानीय, प्रादेशिक र सघीय निर्वाचनका लागि मार्गचित्र प्रदान गरेको र यसै अनुरुप स्थानीय निर्वाचनको तीन चरण पूरा भएको कुरा बताउनुहुँदै निकट भविष्यमा गरिन लागेको प्रादेशिक र सघीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र तीनै तहको निर्वाचनपश्चात् जनआकांक्षा अनुरुप देशको सर्वतोमुखी सामाजिक आर्थिक विकासलाई केन्द्रविन्दूमा राखी अघि वढ्न सवै राजनीतिक दल र आम जनतासमक्ष आह्वान समेत गर्नुभयो । सम्बोधन कै क्रममा सम्माननीयज्यूले संयुक्त राष्ट्र सघको वडापत्रप्रति पूर्ण वफादार तथा असंलग्न आन्दोलनको संस्थापक सदस्य राष्ट्रका रुपमा नेपाल विश्वका सबै राष्ट्रसँग सम्बन्ध विकास र अभिवृद्धि गर्न प्रतिवद्ध रहेको र संविधानको सर्वोच्चता, कानूनको शासन, मानव अधिकार र लोकतन्त्रका मूल्य मान्यताप्रति नेपाल दृढ रहेको बताउनुभयो । साथै लोकतन्त्रको स्थापना र संस्थागत विकास तथा नेपालको सामाजिक, आर्थिक रुपान्तरण अभियानमा सघाउने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघ संस्थाप्रति धन्यवाद समेत दिनु भयो । उक्त अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय कार्यवाहक प्रधानमन्त्रीज्यू, सम्माननीय कायम मुकायम प्रधान न्यायाधीशज्यू, माननीय मन्त्रीज्यूहरु, पूर्वप्रधानमन्त्रीज्यूहरु, माननीय राज्यमन्त्रीज्यूहरु, संवैधानिक निकायका प्रमुखज्यूहरु, नेपालका लागि विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधीज्यूहरु, नेपाल सरकारका उच्च अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

 

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता