संविधान दिवस एवम् राष्ट्रिय दिवस २०७४ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले गर्नुभएको सम्बोधन

सम्माननीय उपराष्ट्रपति,

सम्माननीय कार्यवाहक प्रधानमन्त्री,

सम्माननीय कायममुकायम प्रधानन्यायाधीश,

सम्माननीय सभामुख,

विशिष्ट महानुभावहरु,

महामहिम राजदूत तथा नियोगप्रमुख दम्पतीहरु,

भद्र महिला तथा सज्जनवृन्द !

  • आज नेपालको संविधान जारी भएको दोस्रो वर्ष पूरा भएको सुखद अवसरमा तपाइँहरु सबैलाई राष्ट्रपति भवनमा स्वागत गर्न पाउँदा मलाई हर्षको अनुभूति भएको छ ।
  • संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा स्वदेश तथा विदेशमा विशेष समारोहका साथ उल्लासपूर्वक मनाइँदैछ ।
  • लोकतन्त्र, वाकस्वतन्त्रता, मौलिक हक, जनतामा निहित सार्वभौमसत्ता, मानव अधिकार र सामाजिक न्यायसहितको द्रुततर आर्थिक सामाजिक रुपान्तरणका लागि नेपाली जनताको आकांक्षा र अथक संघर्षको प्रतिफलका रुपमा नेपालको संविधान रहेको छ ।
  • समाजवादउन्मूख अर्थव्यवस्था निर्माण गरी सम्पन्‍न नेपाल र सुखी नेपाली बनाउने संविधानको भावना र मर्म कार्यान्वयन गर्न हामी अग्रसर भएका छौं ।
  • संविधानले राजनीतिक संक्रमण समाप्त गर्नुका साथै लोकतन्त्रको संस्थागत विकासका निमित्त स्थानीय, प्रादेशिक र संघीय निर्वाचनका लागि मार्गचित्र प्रदान गरेको
    छ ।
  • यसै अनुरुप स्थानीय निर्वाचनको तीन चरण पूरा भएको छ ।
  • साथै निकट भविष्यमा गरिन लागेको प्रादेशिक र संघीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
  • तीनै तहको निर्वाचनपश्‍चात जनआकांक्षा अनुरुप देशको सर्वतोमूखी सामाजिक आर्थिक विकासलाई केन्द्रविन्दूमा राखी अघि वढ्न म सरकार, सवै राजनीतिक दल र आम जनतासमक्ष आव्हान गर्दछु ।

 

विशिष्ट कूटनीतिक समुदाय,

  • संयुक्त राष्ट्रसंघको वडापत्रप्रति पूर्ण वफादार तथा असंलग्न आन्दोलनको संस्थापक सदस्यराष्ट्रका रुपमा नेपाल विश्वका सबै राष्ट्रसँग सम्बन्ध विकास र अभिवृद्धि गर्न प्रतिवद्ध
    छ ।
  • संविधानको सर्वोच्चता, कानूनको शासन, मानव अधिकार र लोकतन्त्रका मूल्य मान्यताप्रति नेपाल दृढ छ ।
  • साथै विश्‍वशान्ति, समृद्धि र वातावरणीय सुरक्षाजस्ता सवालहरुको सान्दर्भिकताप्रति पनि नेपाल सजग छ ।
  • यस अवसरमा लोकतन्त्रको स्थापना र संस्थागत विकास तथा नेपालको सामाजिक आर्थिक रुपान्तरण अभियानमा सघाउने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाप्रति धन्यवाद दिन
    चाहन्छु ।
  • मलाई पूर्ण विश्वास छ आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्ने हाम्रो अभियानमा आगामी दिनमा पनि यहाँहरुबाट सहयोग र सद्‍भावना जारी रहने छ ।
  • अन्तमा, यस समारोहमा उपस्थित हुनुभएकोमा तपाइँहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

 

२०७४ साल असोज ३ गते मंगलबार (सेप्टेम्बर १९, २०१७)

राष्ट्रपति भवन, शीतलनिवास

काठमाडौँ ।