ग्याल्बो ल्होसार पर्व २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

नेपालीहरुको महान पर्व ग्याल्बो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

शेर्पा समुदायले यस पर्वलाई नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ आपसमा मनोरन्जन र खुशी साटासाट गरी मनाउने गर्दछन् । विविधताले भरिपूर्ण समृद्ध नेपाली संस्कृतिभित्रको शेर्पा समुदायले मनाउने चाड पर्व र अपनाएको साँस्कृतिक परम्पराको बेग्लै महत्व रहेको छ । मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा सम्वर्द्धनबाट विश्‍व सामु नेपाल र नेपालीको पहिचान सदा कायम राख्‍न सकिने भएकोले यसतर्फ सबैको ध्यान पुग्न आवश्यक छ ।

अन्तमा, सिंगो नेपाली संस्कृति भित्रको एक महत्वपूर्ण पर्वका रुपमा रहेको यस  ग्याल्बो ल्होसार पर्वले  सबै नेपालीमा उत्साह एवम् उमङ्ग बढाउँदै नेपालीहरुवीचको एकता, सद्‍भाव एवम् मित्रता कायम राख्‍न प्रेरणा प्रदान गर्न सकोस् भन्‍ने शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद

२०७४ साल फागुन ४ गते शुक्रबार ।