आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीको सन्देश
आज हामी नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती मनाइरहेका छौँ । नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्द्धनका निम्ति भानुभक्तको योगदान अतुलनीय छ । भानुभक्तले नेपाली भाषालाई काव्यभाषाका रूपमा समुन्नत तुल्याएका छन् । उनका कविताको प्रसारसँगै नेपालको बहुभाषिक र बहुसांस्कृतिक समाजमा राष्ट्रिय एकताको भावना सुदृढ हुँदै गएको छ ।
आदिकवि भानुभक्तले अत्यन्त सरल र रोचक ढङ्गले नेपालीमा लेखेको रामायण सबै नेपालीले सरल ढङ्गले पढ्न सक्ने हुँदा यसबाट हिमाल, पहाड र तराईका जनताबीच भावनात्मक एकता अभिवृद्धि भएको छ । भानुभक्तीय रामायण नेपालीलाई एकताको सूत्रमा बाँध्ने एउटा महत्त्वपूर्ण रचना हो । यस रचनाको माध्यमले देशलाई पृथ्वीनारायण शाहले प्रशासनिक रुपले गराएको एकतालाई भावनात्मक एकताको सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेलेको छ । त्यसकारण भानुभक्त नेपाली राष्ट्रिय एकताको प्रतीक पनि हुन् ।
भानुजयन्तीको यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना प्रकट गर्दछु । साथै, नेपाली भाषाको समुन्नयनबाट अन्य मातृभाषाको संवर्द्धनमा टेवा पुग्ने हुँदा सबै भाषाभाषी समुदायमाझ सिर्जनाको महत्त्व बुझेर आ-आफ्नो भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन आह्वान पनि गर्दछु ।
भानुजयन्ती मनाइरहँदा हामीले उनको जन्मस्थल चुँदीरम्घालाई पनि सम्झनु जरुरी छ । उक्त स्थललाई साहित्यिक तीर्थस्थलका रुपमा विकास गर्न सकेमा नै उनीप्रति हाम्रो सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्दछ ।
यस अवसरमा म आदिकवि भानुभक्त आचार्यलाई स्मरण गर्दै जन्मजयन्तीको यस अवसरले नेपालभित्रका सबै जातजाति, भाषाभाषी, साहित्य र संस्कृतिको संरक्षण गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।
जय नेपाल ।
२०८० साल असार २९ गते शुक्रबार ।