विश्व हात धुने दिवस‚ २०२२ को शुभकामना सन्देश
आज विश्व हात धुने दिवस, १५ अक्टोबरका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाहरूमा स्वच्छ र स्वस्थ जीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००८ अक्टोवर १५ तारिखदेखि मनाउन सुरु गरिएको विश्व हात धुने दिवस आज ‘हातको स्वच्छताको लागि विश्वव्यापी ऐक्यबद्धता’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वभर मनाइँदैछ । यस अवसरमा हामीले पनि नेपाल सरकारको अग्रसरतामा ‘हात धुने बानी व्यवहार; स्वस्थ र सभ्य जीवनको आधार’ भन्ने उद्घोषसहित विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गरिरहेका छौँ ।
हातको स्वच्छता स्वास्थ्यको दृष्टिले अत्यन्तै महत्त्वपूर्ण छ । हात सफा नभएका कारणले नै अनेक सङ्क्रमणहरू भई विश्वभर कैयौं मानिसहरूले जीवन गुमाउनु परेको तथ्याङ्क पाइन्छ । साबुनपानीले हात धुँदा श्वासप्रश्वासजन्य रोग एवं निमोनियाँ सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणु एवं विषाणुद्वारा लाग्ने रोगबाट बच्न सकिने तथ्य अध्ययनहरूले देखाएका छन् । कोरोना भाइरसको संक्रमणबाट बच्ने प्रमुख उपायहरूमध्ये हातको सरसफाइ पनि एक हो । कोरोना भाइरस (कोभिड–१९) महामारी अझै पनि रहिरहेकोले तीनै तहका सरकार, विभिन्न सामाजिक संघसंस्थाका साथै निजी क्षेत्रले सञ्चालन गर्दै आएका हातको सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक छ ।
अन्तमा, सबै नेपालीहरूले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन सम्बद्ध सबैमा हार्दिक आव्हान गर्दछु ।
धन्यवाद ।
२०७९ असोज २९ शनिबार ।