सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्‍व हात धुने दिवस‚ २०२२ को अवसरमा दिनु भएको शुभकामना सन्देश

विश्‍व हात धुने दिवस‚ २०२२ को शुभकामना सन्देश

आज विश्‍व हात धुने दिवस, १५ अक्टोबरका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाहरूमा स्वच्छ र स्वस्थ जीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००८ अक्टोवर १५ तारिखदेखि मनाउन सुरु गरिएको विश्‍व हात धुने दिवस आज ‘हातको स्वच्छताको लागि विश्वव्यापी ऐक्यबद्धता’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्‍वभर मनाइँदैछ । यस अवसरमा हामीले पनि नेपाल सरकारको अग्रसरतामा ‘हात धुने बानी व्यवहार; स्वस्थ र सभ्य जीवनको आधार’ भन्ने उद्‍घोषसहित विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना गरिरहेका छौँ ।

हातको स्वच्छता स्वास्थ्यको दृष्टिले अत्यन्तै महत्त्वपूर्ण छ । हात सफा नभएका कारणले नै अनेक सङ्क्रमणहरू भई विश्‍वभर कैयौं मानिसहरूले जीवन गुमाउनु परेको तथ्याङ्क पाइन्छ । साबुनपानीले हात धुँदा श्‍वासप्रश्‍वासजन्य रोग एवं निमोनियाँ सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणु एवं विषाणुद्वारा लाग्ने रोगबाट बच्न सकिने तथ्य अध्ययनहरूले देखाएका छन् । कोरोना भाइरसको संक्रमणबाट बच्ने प्रमुख उपायहरूमध्ये हातको सरसफाइ पनि एक हो  । कोरोना भाइरस (कोभिड–१९) महामारी अझै पनि रहिरहेकोले तीनै तहका सरकार, विभिन्न सामाजिक संघसंस्थाका साथै निजी क्षेत्रले सञ्चालन गर्दै आएका हातको सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक छ ।

अन्तमा, सबै नेपालीहरूले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन सम्बद्ध सबैमा हार्दिक आव्हान गर्दछु  ।

धन्यवाद ।

२०७९ असोज २९ शनिबार ।