मन्त्रीको कार्यभार तोक्नु भएको

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मिति २०७८/३/२९ गते गठन भई विभिन्न मितिमा हेरफेर तथा कार्यविभाजन भएको मौजुदा मन्त्रिपरिषद्‌का माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री राजेन्द्रप्रसाद श्रेष्ठ, माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री श्री मृगेन्द्रकुमार सिंह यादव, माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री मोहम्मद इश्तियाक राई र माननीय वन तथा वातावरण मन्त्री श्री प्रदीप यादवलाई  नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम मन्त्री पदबाट सम्माननीय प्रधानमन्त्रीज्यूले पदमुक्त गरि सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजहरूले सम्हाली आउनुभएको उल्लिखित मन्त्रालयहरूको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।

साथै, सम्माननीय राष्ट्रपतिज्यूले नेपालको संविधानको धारा ७८ बमोजिम मिति २०७८ चैत २४ गते माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री पदमा नियुक्त हुनु भएका श्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले नेपालको संविधानको सोही धारा बमोजिम संघीय संसदको सदस्यता प्राप्त गर्न नसकी निजको पदावधि सकिएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाली आउनुभएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार माननीय सञ्‍चार तथा सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।

२०७९ साल असोज २७ गते बिहीबार

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता