राष्ट्रिय बाल दिवस, २०७८ को शुभकामना सन्देश
राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा समस्त बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछु ।
नेपालले संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरी बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा प्रतिबद्धता प्रकट गरेको दिन पारेर हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यो वर्ष पनि ‘सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । यसबाट बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता विषयहरू समेटिँदै बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति भएको छ । संविधानको मार्गदर्शन बमोजिम बालबालिकासम्बन्धी ऐन, २०७५ लागू भई बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षण जस्ता विषयहरूमा उल्लेख्य कार्यहरू समेत हुँदै आएका छन् । बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहका संरचना, अभिभावक, विद्यालय र समग्र समाजको जिम्मेवारी हो । बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व हो ।
विश्वव्यापी महामारी कोभिड-१९ का कारण लामो समयदेखि जारी बन्दाबन्दीका कारण बालबालिकाहरूको नियमित पठनपाठनमा अवरोध उत्पन्न भएको छ । अझ देशका दुर्गम गाउँ र बस्तीमा रहने बालबालिकाहरूले अनलाइन कक्षाबाट समेत बञ्चित हुनु परेको अवस्था छ । १८ वर्षमुनिका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोपको व्यवस्था हुन नसकेका कारण उनीहरू संक्रमणको जोखिममा रहेका छन् । तसर्थ, बालबालिकालाई महामारीबाट सुरक्षित बनाउँदै बालअधिकारको संरक्षणमा आ–आफ्नो भूमिका निभाउन म सम्बद्ध सबै पक्षको ध्यान आकृष्ट गर्न चाहन्छु ।
बालबालिकाको भविष्य सुनिश्चित गर्नका लागि सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, बालअधिकारकर्मी, सामाजिक संघ-संस्था, निजी क्षेत्र, नागरिक समाज तथा अभिभावकहरूले निर्वाह गर्दै आइरहनु भएको भूमिकाका लागि सबैमा धन्यवाद दिंदै पुनः राष्ट्रिय बाल दिवस, २०७८ को शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७८ भदौ २९ गते‚ मङ्गलबार ।