सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले काठमाडौं विश्वविद्यालयको रजत महोत्सवको समुद्घाटन समारोहमा गर्नुभएको सम्वोधन

यस समारोहका अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,

माननीय शिक्षामन्त्री एवं सहकुलपति,

काठमाडौँ विश्वविद्यालयका उपकुलपति,

विभिन्न देशका राजदूतहरु,

विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरु,

विश्वविद्यालयका संस्थापकहरू,

विश्वविद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरू,

अन्य प्राज्ञिक वर्ग एवं अतिथिहरू,

भद्र महिला तथा सज्जनवृन्द !

सर्वप्रथम काठमाडौँ विश्वविद्यालयको रजत महोत्सव समारोहमा मलाई आमन्त्रण गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै यस विश्वविद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

काठमाडौँ विश्वविद्यालय नेपालको एक प्रतिष्ठित शिक्षण संस्थाको रूपमा स्थापित भइसकेकोमा खुशी लागेको छ । गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको स्थापना, सञ्चालन र विकास गर्न सफल प्राज्ञिक समुदायको कदर सबैले गर्नु पर्दछ ।

राम्रो काम गर्न राम्रो समूह चाहिन्छ र त्यस्तो समूहमा अविचलित निष्ठा, पारदर्शिता र इमान्दारिता भयो भने छोटो समयमै परिणाम सही र प्रभावकारी निस्किन्छ ।

शिक्षाका विषयमा कुरा गर्दा हामीले दिने शिक्षा कसका लागि र कुन उद्देश्यका लागि भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ । हामीले दिने शिक्षा आमजनताको हितका लागि हुनुपर्छ । जनताको हित नै हाम्रो चासो र शिक्षाको उपलब्धि बन्नुपर्छ ।

मुलुकलाई आर्थिक तथा सामाजिक विकासका निम्ति आवश्यक पर्ने शैक्षिक जनशक्ति परिपूर्ति शिक्षाको लक्ष्य र उद्देश्य हुनुपर्छ । यसका निम्ति शिक्षा सर्वसुलभ, सीपमूलक, व्यावहारिक, जनमूखी र वैज्ञानिक हुनुपर्दछ । शैक्षिक क्रियाकलाप संचालन गर्दा, पाठ्यक्रम निर्माण गर्दा र अनुसन्धान गर्दा/गराउँदा आमजनताको हितलाई केन्द्रविन्दूमा राखेर गर्नुपर्दछ ।

अहिलेको युगले मागेको शिक्षा विज्ञान र प्रविधिमा आधारित भएपनि आफ्नो संस्कृति, भूगोल, इतिहास र राष्ट्रिय सम्पदाप्रति यथेष्ठ जानकारी र श्रद्धा एवं सम्मान जगाउने समेत हुनुपर्दछ । भावी पुस्तामा समेत राष्ट्रप्रेमको भावना ओतप्रोत गराउने शिक्षा उपलब्ध गराउनु पर्दछ ।

शिक्षामार्फत राज्यले सुसंस्कृत नागरिक तयार पार्नु पर्दछ । हाम्रा विद्यार्थीलाई श्रमप्रति सम्मान गर्दै जिउन सिकाउने, कठिन बाटोमा पनि हाँसी–हाँसी हिँड्न सिकाउने एवं राष्ट्र र जनताको हितमा आफूलाई समर्पित गराउन सिकाउने शिक्षा दिनु पर्दछ । नेपाली युवा विद्यार्थीहरु गुणस्तरीय शिक्षा र रोजगारीका निम्ति वर्षेनी हजारौँको सङ्ख्यामा विदेशिने प्रवृत्ति बढ्दो छ । यसबाट नेपालको ठूलो धनराशी विदेशिने मात्र होइन उच्च शिक्षा हासिल गरेको जनशक्ति पलायन हुँदा स्वदेशमा चाहिने जनशक्तिको समेत अभाव  हुन्छ ।

तसर्थ अब स्वदेशमा चाहिने अधिकांश जनशक्ति आफैँले पूरा गर्दै विश्वबजारमा समेत प्रतिस्पर्धा गर्नसक्ने र विभिन्न क्षेत्रमा नेतृत्व लिनसक्ने जनशक्ति तयार पार्न नेपाली विश्वविद्यालयहरु सक्षम हुनुपर्दछ । त्यसैले हाम्रा विश्वविद्यालयहरुलाई गुणस्तरीय शिक्षाका निम्ति विदेशिने क्रमलाई रोक्न मात्र होइन विदेशी विद्यार्थीहरूलाई आकर्षित गरी राम्रो शैक्षिक गन्तव्यको रुपमा नेपाललाई चिनाउन सके शैक्षिक क्षेत्रबाट देशलाई आर्थिक टेवा समेत पुग्नेछ ।

पूर्वाधार विकास र अनुसन्धानमा राज्यले पर्याप्त लगानी गरी प्रतिफल हासिल गर्न सदा तत्पर  रहनु पर्दछ । देशमा बहुविश्वविद्यालयको अवधारणाले स्थान पाएकाले उनीहरुले गुणस्तरमा स्वस्थ्य प्रतिष्पर्धा गर्दै आपसी समन्वय र सद्भाव कायम गरी अघि बढ्नु बान्छनीय हुन्छ ।

उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालयहरु विद्यालय शिक्षाको जगमा खडा हुने भएकाले ती विश्वविद्यालयहरुले विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउन स्रोत तथा साधन र जनशक्ति उपलब्ध गराउन उचित ध्यान दिँदै अनुगमन, निरीक्षण र समन्वय गर्नु पर्दछ ।

शैक्षिक प्रशासनलाई चुस्त दुरुस्त राख्दै छिटोछरितो ढंगले कार्यसम्पादन गर्नुपर्दछ र उत्पन्न भएका शैक्षिक विकृति तथा विसंगति हटाउनु पर्दछ । नेपाल सुन्दर छ र हामी नेपालीहरू पौरखी र लगनशील छौँ ।हामीमा आँट, आत्मविश्वास र क्षमता पनि छ । बुद्धि–विवेक प्रयोग गरेर योजनाबद्ध ढङ्गले काम गर्ने हो भने हामीले आँटेको काम अवश्य पूरा गर्न सक्छौँ । हाम्रा अगाडि समस्या र चुनौतीहरू प्रशस्त छन् । ती समस्या र चुनौतीहरू हाम्रा लागि काम गरेर देखाउने र भविष्यका लागि उदाहरण बन्ने अवसर पनि हुन् । तर हाम्रा अगाडिका चुनौतीहरू कठिन प्रकारका भएकाले हाम्रो अठोट र प्रयत्न पनि बलियो खालकै हुनुपर्छ । सानो प्रयत्नले ठूलो चुनौतीलाई सामना गर्न सकिँदैन, तर निरन्तर प्रयत्न गर्ने हो भने केही वर्षमै चुनौतीलाई सामना गर्न सकिन्छ । हामीले हिम्मत हार्नु हुँदैन र असल कार्यको अभियानलाई निरन्तरता दिएर त्यो अभियानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ ।

हाम्रो संविधानले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिसकेको छ । देशमा संक्रमणकाल समाप्त भएको छ र राजनीतिक निकास प्राप्त भएको अवस्था छ ।त्यसैले अब हामीले गर्ने भनेको आर्थिक क्रान्ति हो । मुलुकको सर्वाङ्गीण विकासले नै सार्वजनिक जीवनमा शान्ति छाउँछ र श्रीवृद्धि हुन्छ । यसका लागि उच्चस्तरको शैक्षिक जनशक्तिको खाँचो पर्दछ । त्यस्तो जनशक्ति विश्वविद्यालयबाटै प्राप्त हुन्छ । चाहे प्राकृतिक विपत्तिबाट देशको पुनर्निर्माण गर्न होस्, चाहे मानव सिर्जित विपत्तिका कारण उत्पन्न भएको जटिल परिस्थितिको सामना गर्न होस्, ठोस योजनाकासाथ तत्कालीन, अल्पकालीन र दीर्घकालीन लक्ष्य अनि उद्देश्य किटान गरेर अनुसन्धानसहित अघि बढ्ने हो भने देशलाई विकसित गर्न हामीलाई धेरै समय लाग्दैन ।

हामीले समावेशिता, सहकार्य र सहअस्तित्वमा आधारित एकताबद्ध समाजको निर्माण गर्नैपर्छ । विविधताबीचको एकता राम्रो र साँचो एकता हो । यो मुलुक सबै जातिको फूलबारी हो त्यसैले सबै फूलहरु फुल्न पाउनु पर्छ । अबको आवश्यकता त्यही हो । आवश्यकताबाट आविष्कार हुन्छ, हरेक समस्याले समाधान ल्याउँछ । वास्तवमा हरेक देश आफ्नै बलबुतामा नै विकसित बन्छ र आफ्नै क्षमताबाट गरिएको विकास मात्रै दीगो पनि हुन्छ ।

अन्त्यमा, काठमाडौँ विश्वविद्यालयको रजत महोत्सवले नेपालको बौद्धिक जगतलाई हौसला दिई नेपालको समृद्धिका लागि लाग्ने प्रेरणा, उत्साह र उमङ्गको सञ्चार गरी हरेक नेपालीमा आफ्नो देशलाई आत्मनिर्भर, स्वाभिमानी र स्वावलम्बी बनाउन प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

धन्यवाद !

२०७२ साल फागुन २८ गते शुक्रबार