त्रिभुवन विश्वविद्यालयको विशेष दीक्षान्त समारोह २०७२ मा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको दीक्षान्त सम्बोधन

सम्माननीय प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयकाकुलपतिज्यू,

माननीय शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति,

आज सम्मानित हुनुहुने नेपाली वाङ्मयका दुइ विशिष्ट साधक महानुभावहरु,

उपकुलपति,

त्रिभुवन विश्वविद्यालय सभाका सदस्य तथा प्राज्ञजन,

भद्र महिला एवं सज्जनवृन्द !

नेपाली साहित्यको क्षेत्रमा स्थापित दुइ विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यलेत्रिभुवन विश्वविद्यालयको विशेष दीक्षान्त समारोहजस्तो ऐतिहासिक एवं गरिमामय कार्यक्रम आयोजना गरेकोमात्रिभुवन विश्वविद्यालय परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यस समारोहको पूर्ण सफलताको कामना गर्दछु ।

साथै यस गरिमामय समारोहमा आमन्त्रण गरी प्राज्ञिक वर्ग तथा विशिष्ट साहित्यसाधक तथा देशको भविष्यका कर्णाधार प्रिय विद्यार्थी समुदायसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नुहुने विश्वविद्यालय परिवार धन्यवादका पात्र हुनुहुन्छ ।

मुलुकले नेपाली जनताको वर्षौँदेखिको चाहनाअनुरुप संविधान सभाका माध्यमबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान प्राप्त गरिसकेकोे नवीन परिवेशमा हुन लागेको यो विशेष दीक्षान्त समारोह आफैँमा ऐतिहासिक महत्वको छ ।

अब नयाँ संविधानका माध्यमबाट मुलुकमा सामाजिक आर्थिक रुपान्तरणका निम्ति पर्याप्त संभावनाका ढोकाहरु खुलेका छन् । यसका निम्ति राष्ट्रलाई समुन्नत एवं समृद्ध बनाउन आर्थिक क्षेत्रमा व्यापकरुपमा परिवर्तनका आयामहरुलाई अँगाल्नु पर्दछ । यी सबै कार्यहरु सम्पादन गर्न देशभित्रका सबै जिम्मेवार राजनीतिक दलहरु, सरकारी तथा गैरसरकारी संघसंस्थाहरु, पेशागत संघसंगठनहरु, निजी क्षेत्र, स्रष्टाहरु, संचारकर्मीहरु तथा सबै तह र तप्काका जनसमुदायको एकता र सहकार्य आवश्यक छ ।

राष्ट्रनिर्माण र राष्ट्रिय समृद्धिको यस अनुष्ठानमा उच्च शिक्षाको जननीका रुपमा विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थाहरुकोअहं भूमिका रहने कुरा निर्विवाद छ । कुनैपनि राष्ट्रको समृद्धि त्यहाँको प्राकृतिक स्रोतमा मात्र निर्भर नभई त्यसको समुचित परिचालनका लागि आवश्यक ज्ञान, सीप र प्रविधिको विकास र प्राप्तिमा निर्भर हुन्छ । आफ्नो योजनाबद्ध विकासको अनुभवबाट संसारका विकसित र विकासशील मुलुकहरुले यो कुरा सिद्ध गरिसकेका छन् ।

एकातर्फ विश्वविद्यालयले उच्च शिक्षाको ज्योति फैलाउन निरन्तर प्रयास गर्नुपर्छ भने हाम्रो युवापुस्तालाई मुलुकको आवश्यकताअनुरुप आफ्नै पारम्परिक तथा आधुनिकतम ज्ञान, सीप र नवीन प्रविधिले सम्पन्न बनाउनु पनि उत्तिकै आवश्यक छ । यस प्रसंगमा देशमा उपलब्ध प्राकृतिक तथा मानव संशाधनको समुचित उपयोग, आधुनिक प्रविधिको सहयोगले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि व्यवसायको दू्रततर विकास तथा विश्वको अतिसुन्दर रुपमा रहेको हाम्रो देशको पर्यटन सम्पदाको यथोचित प्रवद्र्धनमा हाम्रा विद्यार्थीहरुको समेत समयसापेक्ष योगदान लिनेतर्फ सम्बद्ध पक्षको ध्यान जानु पनि वान्छनीय देखिन्छ ।

चुनौतीपूर्ण यस कार्यको परिपूर्तिमा देशको सबभन्दा पुरानो र आमजनताको पहुँच र विश्वास बोकेको संस्था भएका नाताले त्रिभुवन विश्वविद्यालयको भूमिका महत्वपूर्ण एवं नेतृत्वदायी प्रकारको रहेको छ र त्यो भूमिका विश्वविद्यालयले कुशलतापूर्वक निर्वाह गर्नेछ भन्ने अपेक्षा मैले गरेकोछु ।

आफ्नो स्थापनाकोपाँच दशकभन्दा बढी समय पूरा गरिसकेरनिरन्तर मुलुकको शैक्षिक प्राज्ञिक आवश्यकता परिपूर्तिमा क्रियाशील रहनु विश्वविद्यालयका लागि निश्चय पनि गौरवको कुरा हो ।

बितेका यी वर्षहरुमा विश्वविद्यालयले राष्ट्रका लागि विभिन्न क्षेत्रमा आवश्यक उच्चस्तरीय जनशक्तिको निर्माण र विकास गर्दै आएको छ । यसो हुँदाहुँदै पनि राष्ट्रका आम समस्याजस्तै विश्वविद्यालयका पनि आफ्नै समस्याहरु छन् । बदलिँदो विश्व परिस्थिति तथा परिवर्तित राष्ट्रिय परिवेशमा राष्ट्रका आकाङ्क्षा र अपेक्षाहरु बढ्दै गएका छन् तर त्यसअनुरुप आर्थिक, प्राविधिक, भौतिक आदि दृष्टिले विश्वविद्यालयको स्रोत र क्षमता विकसित हुन सकेको छैन ।

यसका अगाडि ती क्षेत्रमा थुप्रै समस्या र चुनौतीहरु रहेका छन् । विश्व मानचित्रको विकासक्रमलाई नियाल्दा यतिबेला राष्ट्रको समुन्नति र विकासमा विश्वका विकासशील राष्ट्रहरुबीच एक खालको प्रतिस्पर्धा चलिरहेको छ र यस प्रतिस्पर्धामा सफल हुनका निमित्त विश्वविद्यालयहरुलाई उच्च शिक्षा र प्रज्ञाको उत्कृष्ट केन्द्र बनाइनु अपरिहार्य हुन्छ ।

विश्वविद्यालयहरुको त्यस स्तरमा हुने विकासले मुलुकको विकासको दिशा निर्देशित हुन्छ । राष्ट्रको जेठो र ठूलो विश्वविद्यालय हुनुका नाताले त्रिभुवन विश्वविद्यालयलाई पनि शिक्षा र प्रज्ञाको उत्कृष्ट केन्द्र (Center of Excellence) बनाउनु अपरिहार्य छ र यसका लागि सबै पक्षको भूमिका उत्तिकै महत्वपूर्ण छ ।

तसर्थ, विश्वविद्यालय परिवार यस दिशामा अझ सक्रिय र प्रतिस्पर्धी बनी नेतृत्वदायी भूमिका अवलम्बन गर्न समर्थ बनोस् भन्ने अपेक्षा र आह्वानसमेत गर्न चाहन्छु ।

त्रिभुवन विश्वविद्यालयका अगाडि रहेका आन्तरिक समस्या र चुनौतीको समाधानमा राज्यको भूमिका निश्चय पनि महत्वपूर्ण छ र त्यस दिशामा सरकारको पूर्ण सहयोग र सरोकार रहनेछ भन्ने मैले विश्वास लिएको छु ।

विश्वविद्यालयको उद्देश्य उच्च प्राज्ञिक शक्तिको निर्माण हो । यसका लागि उपयुक्त प्राज्ञिक परिवेशको निर्माण आवश्यक हुन्छ । उच्च प्राज्ञिक शक्तिको निर्माणका लागि उच्च प्रज्ञाको सम्मान पनि आवश्यक हुन्छ । यस पुनित उद्देश्य पूर्तिका दृष्टिले आजको दिन यस विश्वविद्यालयका लागि विशेष महत्व र गौरवको दिन हो ।

आजको विशेष दीक्षान्त समारोहका माध्यमबाट मानार्थ महाविद्यावारिधि उपाधिद्वारा नेपाली वाङ्मयमा विशेष योगदान दिने ख्यातिप्राप्त दुई विशिष्ट विद्वान् तथा साहित्यसाधक राष्ट्रकवि माधवप्रसाद घिमिरे तथा वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईलाई सम्मानित गर्ने जुन अत्यन्त प्रेरक कार्य त्रिभुवन विश्वविद्यालयले गर्दैछ यो अत्यन्त महत्वपूर्ण एवं प्रशंसायोग्य कार्य हो ।

आज महाविद्यावारिधिद्वारा सम्मानित हुनुहुने राष्ट्रकवि माधवप्रसाद घिमिरे एवं सृजनशील साहित्यिक व्यक्तित्वमात्र नभइ स्वयंमा नेपाली साहित्यको एउटा युग हुनुहुन्छ । नेपाली साहित्यका कालजयी स्रष्टा घिमिरे नेपाली साहित्यका विभिन्न विधाको समृद्धिमा आफ्नो जीवनको ९ औं दशकको उत्तराद्र्धमा पनि सक्रिय हुनु हुन्छ ।

नेपालीगौरव, नेपालको राष्ट्रिय इतिहास तथा राष्ट्रिय अखण्डता र स्वाभिमानको गायनलाई आफ्ना काव्यको मूल स्वर बनाउनु हुने राष्ट्रकवि घिमिरेले राष्ट्रिय चेतनाको विकाससँगै नेपाली भाषा साहित्यको श्रीवृद्धिमा जुन अथक साधना गर्नु भएको छ, त्यसका लागि राष्ट्र सदैव ऋणी रहनेछ ।

श्रद्धेय घिमिरेजस्ता अग्रणी साधकलाई यस उपाधिद्वारा सम्मानित गर्दा एक लब्धप्रतिष्ठित विद्वानको विश्वविद्यालयले गर्ने सम्मानभन्दा यो संस्थाले एक अपरिहार्य राष्ट्रिय दायित्व निर्वाह गरेको छ भन्ने मैले ठानेको छु । राजनीतिक भूगोलका दृष्टिले श्री इन्द्रबहादुर राई नेपालभन्दा बाहिर रहेपनि नेपाली भाषा साहित्यको विकास र समृद्धिमा उहाँको योगदान अतुलनीय रहेको छ । उहाँको अनवरत साहित्य साधनाले नेपाली साहित्यमा युगीन महत्व राख्दछ र त्यसले एउटा युगकै पहिचान बोकेको छ । नेपालीसाहित्यमा नयाँ तथा मौलिक प्रयोग गरेर यसलाई समृद्ध तुल्याउने कार्यमा श्री राईको साहित्य साधना समर्पित रहिआएको छ । यो कार्य निश्चय पनि सम्मान योग्य कार्य हो र त्रिभुवन विश्वविद्यालयले उहाँलाई उक्त सम्मानस्वरुप मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गरेर आफ्नो प्राज्ञिक दायित्वको परिपालना गरेको छ भन्ने मैले ठानेको छु  ।

विज्ञान र प्रविधि राष्ट्रको आधुनिकीकरण र आर्थिक समृद्धिका महत्वपूर्ण आधारहरु हुन् । विश्वविद्यालयले यी क्षेत्रमा उच्च प्राज्ञिकतायुक्त दक्षजनशक्तिको उत्पादन गरिरहेकै छ । यो राष्ट्रको आवश्यकता पनि हो । यसका अतिरिक्त राष्ट्रको समुन्नतिका लागि आत्मिक उन्नति र परिष्कार पनि उत्तिकै आवश्यक हुन्छ । त्यसका लागि हार्दिकता भएका संवेदनशील मानिस र आशावादी तथा सुन्दर स्वप्नजीवी नागरिकको निर्माण पनि त्यत्तिकै आवश्यक हुन्छ । यो काम साहित्यले गर्दछ ।

जुन देशको साहित्यले यो काम जति प्रभावकारी ढङ्गले गर्दछ, त्यस देशको सर्वाङ्गीणविकास पनि त्यतिकै तीव्रतामा हुन्छ ।

मलाई लाग्छ, आज सम्मानित हुनुहुने दुवै स्रष्टाले संवेदनशील र सुन्दर मनुष्य निर्माणमा महत्वपूर्ण योगदान दिनुभएको छ । विश्वविद्यालयका इतिहासमा र राष्ट्रकै जीवनमा यस खालको विशिष्ट सम्मानको बहुआयामिक महत्व हुन्छ । स्रष्टाविशेषलाई सम्मानित गर्नु केवल व्यक्तिविशेषको सम्मान मात्र होइन । यसले एकातिर राष्ट्रलाई पनि सम्मानित गर्दछ भने अर्कातिर भावी पुस्तालाई पनि गहिरो उत्प्रेरणा र मार्गदर्शन प्रदान गर्दछ ।

राष्ट्र निर्माणको महाअभियानमा आजको र आगामी पुस्ताले यसबाट प्रेरणा लिने छन् र संवेदनशील मानिस बन्नेबनाउने यस अनुष्ठानलाई निरन्तरता दिने छन्भन्ने विश्वास मैले लिएको छु ।

आजको विशेष दीक्षान्त समारोह र यसका माध्यमबाट गरिएको विशिष्ट साहित्य साधकद्वयको सम्मानको सार्थकता यसैमा रहेको छ ।

अन्त्यमा, आजको यो विशेष समारोहको आयोजना गरी साहित्यका यी दुई अग्रणी स्रष्टालार्ई सम्मान गरेकोमा विश्वविद्यालय परिवारप्रति पुनः धन्यवाद प्रकट गर्न चाहन्छु ।

साथै, आज सम्मानित हुनुहुने राष्ट्रकवि माधवप्रसाद घिमिरे तथा वरिष्ठ साहित्यसाधक इन्द्रबहादुर राई दुवै व्यक्तित्वलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँहरुको दीर्घ जीवन, सुस्वास्थ्य तथा सिर्जनात्मक क्रियाशीलताको कामना गर्दछु ।

धन्यवाद !

२०७२ साल चैत्र १ गते सोमबार