२५६० औँ वुद्धजयन्ती समारोहमा बुद्ध जन्मस्थल लुम्बिनीमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

२५६० औँ वुद्धजयन्ती समारोह समितिका अध्यक्ष माननीय मन्त्री,

सम्माननीय प्रधानमन्त्री,

माननीय उपप्रधानमन्त्रीहरु,

माननीय मन्त्रीगण,

पूर्व प्रधानमन्त्रीहरु,

मित्रराष्ट्रबाट पाल्नु भएका विशिष्ट अतिथिहरु,

महामहिम राजदूत तथा कुटनीतिक नियोगका प्रतिनिधिहरु,

बौद्ध धर्मगुरु,  भिक्षु तथा भिक्षुणीहरु,

भद्र महिलातथा सज्जनवृन्द !

हाम्रा गौरव र विश्वशान्तिका अग्रदूत गौतम वुद्धको जन्म, वोधिज्ञान प्राप्ती र महापरिनिर्वाणलाभ गरेको पावन अवसरमा वौद्धधर्मको यस पवित्रउद्गमस्थ ललुम्विनीमा आएर २५६० वर्ष अघि जन्मनुभएका शान्तिदूत गौतम वुद्धप्रति हार्दिक सम्मान  व्यक्त गर्न पाउँदा मलाई गर्वको महसुस भएको छ ।

पच्चीस सय वर्षभन्दा पहिले मानवमात्रको सुख, हित र समृद्धिका लागि गौतम वुद्धले प्रतिपादन गर्नुभएको शान्ति, भातृत्व, अहिंसा र करुणाको सन्देश आजको हिंसा, द्वन्द्व, गरिवी र अशान्तिले आक्रान्त विश्वमा अझ बढी सान्दर्भिक रहेको छ ।

बुद्धका अमर उपदेशका पालना संयुक्त राष्ट्रसंघका शान्ति स्थापना सम्बन्धी क्रियाकलापमा प्रतिविम्वित हुनुको साथै अन्य हिंसापीडित क्षेत्रमा शान्तिको बहाली कार्यमा समेत उत्तिकै प्रासंगिक हुने देखिन्छ ।

यसै प्रसंगमा अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा म नेपाल सरकार, सम्बद्ध सवै संस्था, कार्यपत्र प्रस्तोता विद्वान तथा विदुषीहरु, सहभागी र सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिन चाहन्छु । यस पुनीत अवसरमा लुम्विनीको भ्रमणमा आउनु भएका सबै स्वदेशी तथा विदेशी मित्रहरुलाई हार्दिक स्वागतगर्दछु ।

शान्तिका महानायक गौतम बुद्घको जन्मस्थलका रुपमा लुम्बिनी र यस आसपासका गौतम बुद्घसँग जोडिएका भूमि पवित्र स्थल हुन् ।

राजा शुद्धोदनकी रानी तथा गौतम बुद्धकी माता मायादेवी आफ्नो माइती देवदह जाने क्रममा बाटैमा लुम्बिनी ग्रामको यसै स्थानमा गौतम बुद्धको जन्म भएको थियो ।

हिजो मात्रै मैले पछिल्लोपटक बुद्ध जन्मेको स्थानमा निर्मित मायादेवी मन्दिर, राजा शुद्धोदनको दरवार तिलौराकोट, गौतम बुद्धको अस्तिधातु रहेको स्थान रामग्राम र बुद्धको मावली देवदहको अवलोकन भ्रमण गर्ने अवसर पाएँ ।

कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा पर्ने यी ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक महत्व बोकेका पवित्र स्थलहरुको यथारुपमा संरक्षण तथा सम्बर्द्धन गर्दै अन्तर्राष्ट्रिय स्तरकै पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्नुपर्ने जनताको उत्कठ चाहना रहेकोमा यसतर्फ यथाशीघ्र सम्बद्ध सबै पक्षको ध्यान जानुपर्दछ ।

खुशीको कुरा यस क्षेत्रलाई अन्तर्राष्ट्रिय शान्तिनगर र विश्वका सबै वौद्ध धर्मावलम्वी र वुद्धले प्रतिपादन गर्नुभएको सिद्धान्तमा अभिरुचि, आस्था र विश्वास राख्नुहुने समस्त मानवजातीका लागि तीर्थस्थलका रुपमा स्थापित गर्ने नेपाल सरकारले योजना बनाएको छ भन्ने जानकारी मैले पाएको छु ।

शीघ्रातिशीघ्र लुम्बिनी गुरुयोजनालाई सम्पन्न गरेर समग्र लुम्बिनी क्षेत्रको विकासमा नयाँ योजनासाथ अगाडि बढ्न आवश्यक रहेको तर्फ सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।

लुम्बिनी गुरुयोजना र सोअन्तर्गत संचालित विभिन्न कार्यक्रम अनुसार लुम्बिनीमा विभिन्न मित्रराष्ट्र र संघसंस्थाले मन्दिर, गुम्वा, विहार र आस्थाको धरोहर निर्माण गरिरहेको कुरा थाहा पाउँदा सन्तोष लागेको छ ।

यस प्रसंगमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सडक, होटलजस्ता भौतिक पूर्वाधारको समुचित विकास हुनु जति जरुरी छ, त्यो भन्दा बढी लुम्विनी र यस क्षेत्रका पुरातात्विक, साँस्कृतिक र बास्तुकला सम्बन्धी मौलिकतालाई संरक्षण र सम्बर्द्धन गर्नुपर्ने चुनौतीपूर्ण दायित्व हामीमा रहेको छ ।

यस प्रक्रियामा स्थानीय समुदायको अधिकतम सहभागिता जुटाउन र लुम्बिनी क्षेत्रको समग्र विकासबाट स्थानीय बासिन्दाहरू लाभान्वित हुन सकुन् भन्ने कुरामा पनि ध्यानपुग्नु आवश्यक छ ।

विश्वसामू लुम्बिनीको प्रबर्द्धन गर्ने सन्दर्भमा यसपटक काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय वौद्ध सम्मेलनले चयन गरेको विषय लुम्विनी नेपाल भगवान बुद्धको जन्मस्थान तथा बुद्ध दर्शनको उद्गमभूमि ज्यादै सान्दर्भिक छ ।

तसर्थ लुम्विनीको ब्यापक प्रचारप्रसार र गौतम बुद्धको उपदेशको सान्दर्भिकताबारे हामीले योजनाबद्ध ढंगले प्रबर्द्धन गर्नु पर्दछ ।

लुम्बिनी क्षेत्रमा स्थापना हुने शान्तिनगरले बौद्ध धर्म र दर्शनसम्बन्धी अध्ययन गर्नेहरु तथा शोधकर्ताहरुलाई महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास र आशा लिएको छु ।

महान व्यक्तित्वहरु विश्वकै अमूल्य निधि भएकाले उनीहरुलाई कुनै सीमित जात, जाति र राष्ट्रियताको दायरामामात्र संकुचित गर्न मिल्दैन ।

यति हुँदाहुँदै पनि महान व्यक्तिका जन्मस्थलका वासिन्दा  र माटोले उनीहरुप्रति विशेष गर्व, ममता र अपनत्व महसुस गरेको हुन्छ ।

आज शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल भएको यस पुण्यभूमिमा पाइला टेकिरहँदा हामी यहाँ उपस्थित सबैको मन मेरो जस्तै हर्षित भएको हुनुपर्छ भन्ने लाग्दछ ।

गौतम वुद्धका शाश्वत सन्देशहरूले नेपाली समाजको संस्कृति र मनोविज्ञान निर्माणमा सधैँभरि मार्गदर्शन गरिरहेका छन् ।

विविध जाति, भाषा, संस्कृति र धर्ममा आवद्ध नेपाली जनतामा सहिष्णुता, सद्‌भाव, पारस्परिक सम्मान, अर्काका पीडाप्रति सह–अनुभूति, क्षमा एवम् सामाजिक सद्‌भावको जुनविशेषताहामी पाउँछैं, यसका पछाडि वुद्ध दर्शन र गौतम वुद्धका आदर्शहरूको मूल्य छ ।

यही आदर्शकै जगमा उभिएर नेपालले विश्वमाशान्ति, मैत्री, पारस्परिक सहयोग, अहस्तक्षेप र विश्व कल्याणको अन्तर्राष्ट्रिय नीति अवलम्बन गर्दै आएको छ ।

आगामी दिनमा पनि नेपालले यिनै नीतिहरूलाई अनुशरण गर्दै वहुलता, विविधता र सामाजिक सद्‌भाव सहितको राष्ट्रिय एकता एवम् सबै मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायसँग मित्रता र सहयोगको सम्बन्ध अभिवृद्धि गर्दै जानेछ ।

यस महत्वपूर्ण अवसरमा यहाँहरु जस्ता बौद्ध धर्मसँग आबद्ध प्राज्ञिक, बौद्धिक र गन्यमान्य व्यक्तिहरुको उपस्थिति र सक्रिय सहभागिताले यस ऐतिहासिक बौद्ध सम्मेलनको गरिमालाई अझ उचो बनाएको छ ।

एक दशकको हिंसात्मक द्वन्द्व र लामो राजनीतिक संक्रमणपश्चात् सार्वभौम जनताको अधिकारलाई संस्थागत गर्ने लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भई देशको आर्थिक सामाजिक रुपान्तरणमा हाम्रो ध्यान केन्द्रितभएको प्रसंगमा हाम्रा गौरव गौतम बुद्धका अमर उपदेशले हामीलाई सदा अभिप्रेरित गर्ने मैले विश्वास लिएको छु ।

अन्त्यमा, बुद्धका उपदेशलाई मन, बचन र कर्मले पालनागर्न यस पावन अवसरले हामी सबैलाई थप प्रेरणा दिनेछ भन्ने विश्वासका साथ आयोजक मित्रहरु र यस कार्यक्रममा सहभागी सबैलाई पुनः एकपटक धन्यवाददिन चाहन्छु ।

धन्यवाद !

२०७३ साल जेठ ८ गते शनिबार ।