सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देश

२९औँ अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको शुभकामना सन्देश

अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका फरक क्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन गर्ने तथा समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्वर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने गरिएको छ ।

‘कोभिड-१९ पश्‍चात्‌को उत्कृष्ट पुनरागमनको सुनिश्‍चितताः अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिवद्धता’ भन्ने राष्ट्रिय संकल्पका साथ नेपालमा पनि अपाङ्गता दिवस मनाउन लागिएको छ ।

नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने  र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्‍चित गरेको छ । यसै बीच ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४’ निर्माण भएको छ भने नेपाल सरकारले यसको कार्यान्वयनका लागि ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७७’ समेत जारी गरिसकेको छ । यी संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरहरूमा उनीहरूको समान पहुँच स्थापित गरिनु पर्दछ । यसका साथै उनीहरूलाई क्षमता र आवश्यकता अनुसारका रोजगारमूलक एवम् सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउनेतर्फ ध्यान जानु पर्दछ ।

अपाङ्गताप्रति समाजमा विद्यमान नकारात्मक धारणाहरूमा न्यूनीकरण गर्न र अपाङ्गता भएका व्यक्तिहरूप्रति समाज र सरोकारवालाहरूको व्यवहारमा परिवर्तन ल्याउन पनि यो दिवसको महत्व रहेको छ । फरक क्षमता भएका व्यक्तिहरूको दैनिक जीवन सहज तुल्याउन र सार्वजनिक सेवामा उनीहरुको सहज पहुँच स्थापित गर्न अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने कुरा मैले महसुस गरेको छु ।

अन्त्यमा, अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा यस क्षेत्रमा काम गर्ने नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था सबैलाई थप जिम्मेवारीका साथ काम गर्न उत्प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७७ मङ्सिर १८ गते, बिहीबार ।