सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ट्होटें पर्वका अवसरमा तमु धिँ नेपाल, पोखराद्वारा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

गण्डकी प्रदेशका माननीय प्रदेश प्रमुख‚

गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री‚

पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरू,

तमु धिँ, नेपालका संस्थापक अध्यक्ष,

राष्ट्र सेवकहरू,

तमु दिदीबहिनी तथा दाजुभाइहरू,

उपस्थित महिला तथा सज्जनवृन्द ।

सर्वप्रथम तमुहरूको महत्वपूर्ण सांस्कृतिक पर्व ट्होटेंको अवसरमा आयोजित यस उल्लासमय कार्यक्रममा सहभागी भई तपाईँहरूसँग सात्क्षात्कार गर्न पाउदा मलाई अत्यन्तै खुसी लागेको छ । ट्होटें पर्वको यस सुखद् अवसरमा सम्पूर्ण तमु समुदायमा म हार्दिक शुभकामना व्यक्त गर्दछु ।

गण्डकी प्रदेशको, खासगरी हिमाली भेग, गुरुङ भाषा र संस्कृतिको उद्‌गम स्थल मानिन्छ । यो क्षेत्र प्राकृतिक सम्पदा र जैविक विविधताले भरिपूर्ण छ । प्राचीनकालदेखि नै यहाँको माटो, ढुङ्गा, वन जङ्गल र कृषियोग्य जमिनमा मात्र होइन, नेपाली संस्कृतिको संरक्षण र संवर्द्धनमा पनि गुरुङहरूको महत्वपूर्ण योगदान रहेको छ ।

नेपाल राष्ट्रको एकिकरण प्रक्रियामा गुरुङ जातिको विशेष योगदान रहेको कुरा म स्मरण गर्न चाहन्छु । गुरुङ जातिको मौलिक भाषा, संस्कृति, रीतिरिवाज, चाडपर्व, गीत नाच एवं भेषभुषाले नेपाली राष्ट्रिय संस्कृतिलाई सबल र समृद्ध बनाउनमा ठूलो योगदान पुगेको छ भन्ने मलाई लागेको छ ।

तमुहरूको चाडपर्वमध्ये ट्होटे पनि एउटा मौलिक ऋतु पर्व हो । यो पर्वले नकारात्मक उर्जालाई हटाई सकारात्मक उर्जा दिने काम गर्दछ भन्ने मैले विश्‍वास लिएको छु । आफ्नो गाउँ, ठाउँ, वस्ती र अझ राज्यबाटै दोख, दोखालो, रोगव्याधी र अनिकाल भगाउन वर्षको दुइपटक ट्होटे पर्व मनाउने प्रचलन गुरुङ समाजमा विद्यमान छ । त्यसैले यो एउटा अँध्यारोबाट उज्यालो र रोग र शोकबाट स्वस्थ र सुखद् जीवनतर्फ लक्षित सांस्कृतिक प्रचलन हो भन्ने मेरो विश्‍वास रहेको छ ।

यस्तो राम्रो परम्परा र चलनलाई अब हामीले भूत, रोगव्याधी र दोख मात्र फाल्ने होइन, बरू हाम्रो समाजबाट सबै प्रकारका कुप्रथा, कुसंस्कार, अन्धविश्वास र पछौटेपन अन्त्य गर्न पनि ट्होटें जस्तो पर्वले थप उर्जा प्रदान गरेको छ ।

यस्ता हाम्रा धार्मिक, सांस्कृतिक पर्वहरूको संरक्षण र सम्बर्द्धन गर्दै जानुपर्ने आवश्यकता रहेको छ । हाम्रा मौलिक सांस्कृतिक परम्पराहरूलाई युवा पुस्तामा हस्तान्तरण गर्न समेत यस्ता पर्वले योगदान गर्दछ भन्ने मलाई लागेको छ ।

अन्त्यमा, राष्ट्रिय स्वतन्त्रता, स्वभिमान र मुलुकलाई समृद्धिको बाटोमा लैजाने तमुहरूको राष्ट्रिय भावनाको म हृदयदेखि प्रशंसा गर्न चाहन्छु । यस कार्यक्रममा मलाई पनि सहभागी हुने अवसर दिनुभएकोमा आयोजक तमु धिँ नेपाल परिवारलाई धन्यवाद दिन चाहन्छु ।

तमु धिँ‚ नेपालका अध्यक्ष हुमबहादुर गुरुङ अस्वस्थताका कारण यहाँ उपस्थित हुन नसक्नु भएको कुरा जानकारी भयो । म उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

धन्यवाद ।

२०७९ साल श्रावण ३१ गते मङ्गलबार ।

नयाँ बजार‚ पोखरा ।