सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले श्री विन्ध्यावासिनी माध्यमिक विद्यालयको हिरक जयन्ती समापन समारोहमा गर्नुभएको सम्बोधन

गण्डकी प्रदेशका माननीय मुख्य मन्त्री‚

पूर्व प्रदेश प्रमुख‚

प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरू‚

पूर्व मन्त्रीहरू,

गण्डकी प्रदेशसभाका पदाधिकारी तथा प्रदेश सरकारका माननीय मन्त्रीहरू‚

पोखरा महानगरपालिकाका प्रमुख तथा उप–प्रमुख,

राष्ट्रसेवकहरू‚

सञ्चारकर्मीहरू‚

उपस्थित भद्रमहिला तथा सज्जनवृन्द ।

नेपालमा प्रजातन्त्रको स्थापना हुनुभन्दा अगाडि वि.सं. २००४ सालमा स्थापित मुलुककै पुराना शैक्षिक केन्द्रहरूमा पर्ने विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरक जयन्ती समापन समारोहमा उपस्थित भएर तपाईंहरूसँग सात्क्षात्कार गर्न पाउँदा मलाई असाध्यै खुसी लागेको छ । हीरक जयन्तीको यस अवसरमा म विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक, अभिभावक, विद्यार्थी लगायत समस्त विद्यालय परिवारलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।

सक्षम‚ इमान्दार एवं अनुशासित जनशक्ति उत्पादन गरी राष्ट्रको समग्र विकासमा योगदान पुर्‍याइरहेको यो विद्यालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा गत वर्ष गरिएको सर्वेक्षणमा गण्डकी प्रदेशमा सर्वोत्कृष्ट तथा ९० प्रतिशतभन्दा बढी प्राप्ताङ्क ल्याउने मुलुकभरकै पाँचवटा विद्यालयमा गणना हुन सफल भएको कुरा थाहा पाउँदा मलाई धेरै खुसी लागेको छ । यस उपलब्धीका लागि विद्यालयका शिक्षक, विद्यार्थी एवं अभिभावकहरूलाई म हार्दिक बधाई दिन चाहन्छु र भविष्यमा तपाईंहरूले अझ सफलता हासिल गर्ने विश्‍वास व्यक्त गर्दछु ।

सार्वजनिक शिक्षाको क्षेत्रमा राज्यद्वारा भइरहेको लगानीअनुरुप अपेक्षित प्रतिफल प्राप्त हुन नसकिरहेको भन्ने आम गुनासो रहेको सन्दर्भमा सामुदायिक विद्यालयले गुणस्तरीय‚ जीवनोपयोगी र व्यवहारिक शिक्षा प्रदान गर्न सक्दछ भन्ने उदाहरण प्रस्तुत गर्न यो विद्यालय सफल भएको छ भन्ने मलाई लागेको छ ।

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अभिभावक, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी सबैको सामुहिक प्रयास आवश्यक पर्दछ । त्यसमा पनि विद्यालय व्यवस्थापन समिति, अभिभावक र प्रधानाध्यापक चनाखो भएर क्रियाशील हुन सके मात्र पनि सामुदायिक विद्यालयमा प्रदान गरिने शिक्षामा गुणस्तर कायम गर्न सकिन्छ भन्ने पक्षलाई यस विद्यालयले कार्यान्वयन गरेको मैले पनि महसुस गरेको छु ।

मुलुकको विकासका निम्ति शिक्षालाई पूर्वाधारको पनि पूर्वाधारका रूपमा लिइने गरिएको छ । शिक्षाले हरेक व्यक्तिको सर्वाङ्गीण विकास गर्दै असल, योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्न मद्दत गर्दछ । तसर्थ राष्ट्रको समृद्धि र विकासका लागि आवश्यक स्रोत र साधनहरूको पहिचान गर्दै तिनको दिगो उपयोग गर्नका लागि आवश्यक व्यवस्थापकीय क्षमताको विकास गर्नु नै हाम्रो शिक्षाको मूलभूत उद्देश्य रहेको छ ।

अनुपम प्राकृतिक सुन्दरता, जैविक विविधता एवं उन्नत सांस्कृतिक सम्पदाहरूले भरिपूर्ण रहेको गण्डकी प्रदेश र समग्र नेपालकै विकास र समृद्धिका लागि सांस्कृतिक तथा पर्यापर्यटनको अपार सम्भावना’bout हामी सबै विदितै छौँ । तसर्थ, यस क्षेत्रको प्राकृतिक स्रोत तथा सांस्कृतिक सम्पदाहरूमा आधारित उद्यमशिलता प्रवर्द्धन गर्नका लागि आवश्यक पर्ने दक्ष जनशक्ति विकास गर्नेतर्फ हाम्रा शैक्षिक गतिविधिहरू उन्मुख हुनु पर्दछ भन्ने मलाई लाग्दछ ।

सीपमूलक, वैज्ञानिक, व्यावहारिक एवं गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला हो । मुलुकको सर्वाङ्गीण विकासको मूल आधार शिक्षा नै भएकाले गुणस्तरीय शिक्षामा सबै नागरिकको समतामूलक र न्यायोचित पहुँच स्थापित गर्नु आजको आवश्यकता पनि हो ।

२१औँ शताब्दीको आवश्यकताअनुरुप विश्‍वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षाको महत्वलाई आत्मसात गर्दै यस विद्यालयले प्राविधिक शिक्षाको अध्ययन अध्यापन थालनी गरेकोमा मलाई खुसी लागेको छ ।

नेपालको एउटा चिनारी ज्ञानभूमि र शान्तिभूमिका रूपमा स्थापित छ । हाम्रा वीर पुर्खाको त्याग र बलिदानबाट मुलुकको एकता, सार्वभौमसत्ता र राष्ट्रियताको जगेर्ना हुँदै आएको’bout पनि हामीलाई जानकारी छ । हामीले आफ्नो त्यही महान् र गौरवपूर्ण इतिहासबाट शिक्षा लिँदै मुलुकको विकास र प्रगतिको यात्रालाई अगाडि बढाउनुपर्दछ । हाम्रा विद्यालयहरूले प्रदान गर्ने शिक्षा र सामाजिक चेतनामा राष्ट्र र राष्ट्रियता प्रतिको यो दायित्व बहन हुने छ भन्ने मैले अपेक्षा लिएको छु । विन्ध्यवासिनी माध्यमिक विद्यालयले आफ्नो क्षेत्रमा त्यतातर्फ समेत उदाहरण कायम गर्न सक्नेछ भन्ने मैले विश्‍वास लिएको छु ।

यस विद्यालयलाई स्थापनाकालदेखि यहाँसम्म ल्याइपुर्‍याउन आ–आफ्नो क्षेत्रबाट योगदान गर्ने विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू‚ प्रधानाध्यापक‚ शिक्षक वर्ग‚ अभिभावक तथा विद्यार्थीहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु । साथै, विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि सहयोग गर्ने विभिन्न संघ–संस्था एवं निकायहरूलाई पनि म धन्यवाद दिन चाहन्छु ।

यस विद्यालयलाई एक नमूना विद्यालयको रूपमा विकास गर्न तपाईँहरू सफल हुनुहुनेछ भन्ने आशा एवं विश्‍वासका साथ सम्पूर्ण विद्यालय परिवारप्रति म पुन: बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

आज सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने विद्यार्थी भाइबहिनीहरू र राष्ट्रिय सेवा दल (एसीसीएन)का भाइबहिनीहरूलाई पनि धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ।

२०७९ साल साउन ३१ गते मङ्गलबार ।

पोखरा महानगरपालिका–१६‚ बाटुलेचौर