२५६२ औं बुद्धजयन्ती २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपाल आमाका सपुत एवम् अमरज्योति शान्तिका अग्रदूत बुद्धको २५६२ औँ जन्मजयन्तीको पावन अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीहरु लगायत समस्त नेपालीहरु तथा शाक्यमुनि बुद्धको शान्ति, अहिंसा, मेलमिलाप र करुणाप्रति विश्वास राख्‍ने स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्‍भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ एवम् सवल बनाउने अभियानमा शान्तिदूत बुद्धका उपदेश तथा मार्गदर्शनहरु हामी सबैका लागि प्रेरणादायी रहेका छन् । बुद्धदर्शनलाई आत्मसात् गर्दै अगाडी बढ्न सकेमा मात्र पनि हामी भित्र आन्तरिक शान्ति तथा भातृत्व प्रर्बद्धन हुने साथै आर्थिक समृद्धि, सामाजिक विकास एवम् दिगो शान्ति, सुशासन तर्फ उन्मूख सबैवीच एकता, सहिष्णुता र सद्‍भाव कायम हुन सजिलो
हुनेछ ।

अन्तमा, नेपालको पवित्रस्थल लुम्बिनीमा जन्मनु भएका नेपालका राष्ट्रगौरव शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग रहेको आजको पवित्र दिनमा बुद्धजयन्ती मनाइरहँदा एक आपसमा सद्‍भाव, मेलमिलाप एवं अहिंसावादी सिद्धान्तको पालना गर्न विश्‍वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने कामना
गर्दछु ।

धन्यवाद !

२०७५ बैशाख १७ गते सोमबार ।