उभौली पर्व, २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

किराँत धर्मावलम्बीहरुको पवित्र एवं महान उभौली पर्वका अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली किराँत धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हाम्रो देश नेपालको मौलिक र विशिष्ट संस्कृतिसहितको समुदाय किराँतको उभौली पर्वले नेपालीहरुबीच आपसी सद्‌भाव, भातृत्व र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलमिलापको वातावरण अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले अपेक्षा लिएको छु । साथै हामीबीच सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम एकता छ र यो सदा अक्षुण्ण रहने छ भन्‍ने विश्‍वास लिएको छु ।

आर्थिक समृद्धि, सामाजिक विकास, दिगो शान्ति, सुशासनतर्फ अग्रसर वर्तमान अवस्थामा सबै समुदायका नेपालीहरुमा राष्ट्रलाई एकता, सहिष्णुता र सद्‌भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न यस महान पर्वले थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

धन्यवाद !

२०७५ बैशाख १७ गते  सोमवार ।