विश्‍व मजदुर दिवस, २०१८ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

श्रमिकहरुको हक अधिकार स्थापित भएको दिनको रुपमा प्रत्येक वर्ष मे १ मा  विश्व मजदुर दिवस मनाउने गरिन्छ । मजदुर दिवसको यस अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् श्रम अधिकार सुनिश्चितताको कामना गर्दछु ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्त रुप लिँदैजाने सन्दर्भमा श्रमिक वर्ग लाभान्वित हुने अपेक्षा गर्दछु । साथै यस दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सुनिश्‍चित गरी विश्वभरीका श्रमजीविहरुलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास मलाई लागेको छ ।

सबै नेपाली श्रमिकहरुले स्वदेश तथा विदेशमा श्रम गर्दा अनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवम् सामाजिक सुरक्षा लगायतका सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बन्ध स्थापित हुन सकोस् भन्ने कामना गर्दछु । आजको यस दिवसको पुनीत अवसरमा आर्थिक समृद्धि, सामाजिक विकास, दीगो शान्ति सुशासनतर्फ अग्रसर वर्तमान अवस्थामा सबै नेपाली श्रमिक तथा मजदुरहरुले आफ्नो हक-अधिकारको पूर्ण, जीवनोपयोगी र सार्थक रुपमा प्रयोग गर्न सकुन् भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

मिति २०७५ साल बैशाख १८ गते मंगलबार