हरितालिका तीज पर्व, २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

हरितालिका तीज पर्व, २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

नेपालको साँस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा पारिवारिक सुख, शान्ति, समृद्धि एवम् सामाजिक एकता र सद्‍भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यस पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर भगवान शिव–पार्वतीको पूजा आराधना गर्ने गर्दछन् । सबै नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, समन्वय, धार्मिक सहिष्णुता तथा सामाजिक सद्‍भाव कायम गर्न सहयोग पुर्‍याइरहेका यस्ता चाडपर्वहरु मनाउँदा तीनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक छ ।

बहुजाति, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने बिभिन्न चाडपर्वहरुले आफ्नै मौलिक मूल्य र मान्यताहरु सहित संस्कृति, कला, भेषभूषा, गीतसंगीतलाई संरक्षण तथा सम्बर्द्धन गरिरहेका हुन्छन् । देशको द्रुततर आर्थिक विकास एवम् सामाजिक रुपान्तरण गर्नुपर्ने आजको आवश्यकतालाई सबैले हृदयंगम गरी चाडपर्वहरु मनाउँदा मितव्ययिता अपनाउन आवश्यक छ ।

अन्तमा, नारीहरुको महान पर्व हरितालिका तीजले हामी सबैबीच खुशीयाली र शुभकामना आदान प्रदान गर्दै सामाजिक, साँस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध थप सुमधुर बनाउन सघाउ पुर्‍याओस् भन्ने शुभेच्छा सहित हार्दिक शुभकामना प्रकट गर्दछु ।

धन्यवाद !

२०७५ भाद्र २७ गते बुधबार ।