‘सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ नेपाली संस्करण पुस्तकको लोकार्पण एवं खण्ड ३ को परिचयात्मक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

जनवादी गणतन्त्र चीनका महामहिम राजदूत,

यस कार्यक्रमका आयोजकहरू,

भद्रमहिला तथा सज्जनवृन्द !

नेपालको असल मित्र र घनिष्ट छिमेकी जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको विचार, दर्शन र दूरदृष्टि समेटिएको ‘सी चिनफिङः  चीनको शासन व्यवस्थाʼ खण्ड २’ पुस्तकको नेपाली संस्करण लोकार्पण गर्न तथा खण्ड ३ को परिचयात्मक समारोहमा सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ ।

२०७३ साल पुस ३ गते नेपालको राष्ट्रपति भवनमा ‘सी चिनफिङः चीनको शासन व्यवस्था‚ खण्ड १’ पुस्तकको यसरी नै लोकार्पण गर्ने सुअवसर पाएको कुरा म यहाँ स्मरण गर्न चाहन्छु ।

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा मित्र राष्ट्र चीनले शासकीय प्रवन्ध र अर्थतन्त्रमा हासिल गरेको अभूतपूर्व सफलता आजको विश्वमा आम चासो, चिन्तन र जिज्ञासाको विषय बन्न पुगेको छ । विज्ञान तथा प्रविधिको अनुसन्धान, विकास र आविष्कारका क्षेत्रमा चीनले अभूतपूर्व उपलब्धी हासिल गरेको छ । गत सेप्टेम्बर १७ मा चिनियाँ अन्तरिक्ष वैज्ञानिकहरू सम्मिलित सेन्झाउ–१२ अन्तरिक्ष यानले सफलतापूर्वक आफ्नो लक्ष्य पूरा गरेको प्रसंग स्मरण गर्दै यसका लागि चिनियाँ जनता र महामहिम राष्ट्रपतिलाई हार्दिक बधाई दिन चाहन्छु ।

महामहिम राष्ट्रपति सी चिनफिङले आधुनिक चीनमा क्रान्ति‚ निर्माण र सुधारका साथै चिनियाँ राष्ट्रको पुनर्जागरणका लागि महत्वपूर्ण योगदान गर्नुहुने माओ जेदोङ‚ तङ स्याओफिङ‚ जियाङ जेमिन लगायतका अग्रणी नेतृत्वको योगदानलाई निरन्तरता दिँदै ‘नयाँ युगमा चिनियाँ विशेषता सहितको समाजवाद’ निर्माणको अभियानलाई कुशलतापूर्वक नेतृत्व गरिरहनु भएको छ । महामहिम सीले अवलम्बन गर्नुभएको वातावरणमैत्री दिगो विकासका माध्यमबाट जलवायु परिवर्तनले उत्पन्न गरेका चुनौती सामना गर्न चीन सक्षम हुनेछ भन्ने विश्वास लिएको छु ।

यसैगरी चीनले अंगीकार गरेको मानवकेन्द्रित हरित विकास नीतिका माध्यमबाट मानव अधिकारका मूलभूत मान्यताहरूको संरक्षणमा समेत टेवा पुगेको मैले महसुस गरेको छु । यस परिप्रेक्ष्यमा “मानवजातिका लागि साझा भविष्यसहितको विश्व समुदाय निर्माण” गर्ने महामहिम सीको परिकल्पना सराहनीय छ ।

अतिकम विकसित र विकासोन्मुख मुलुकहरूलाई भौतिक पूर्वाधार निर्माणमा सहयोग गरी विकासका अवसरहरू प्रदान गर्ने राष्ट्रपति सी को परिकल्पनाको समेत हामी प्रसंशा गर्दछौँ ।

महामहिम राष्ट्रपति सीको नेतृत्वमा करोडौँ चिनियाँ जनतालाई गरिबीको रेखाबाट माथि उठाउँदै सन् २०२० भित्र चीनबाट गरिबी निवारण गर्ने अभियानमा ऐतिहासिक सफलता मिलेको छ । यसबाट सन् २०३० सम्म विश्वमा सबै प्रकारको गरिबी निवारण गर्ने दिगो विकासको लक्ष्य हासिल गर्न समेत चीनले महत्वपूर्ण योगदान पु¥याएको छ भन्ने मलाई लागेको छ । सन् २०२५ सम्ममा विश्वको प्रमुख नवप्रवर्तन तथा प्रविधि राष्ट्र बनाउने चीनको लक्ष्यमा सफलता मिलोस् भनी यस अवसरमा म शुभकामना प्रकट गर्दछु ।

भद्रमहिला तथा सज्जनवृन्द !

नेपाल र चीन बीच परापूर्व कालदेखि नै मैत्रीपूर्ण घनिष्ठ सम्बन्ध रहिआएको छ । भूगोल र प्रकृतिले हामीलाई एक अर्कासँग निकट बनाएका छन् । हाम्रा दुई देशलाई महान बौद्ध सभ्यताको साझा विरासतले आपसमा जोडेको छ । हाम्रा दुवै देशले पारस्परिक मित्रता एवं विकासमा साझेदारीलाई ठूलो महत्व दिएका छन् ।

इतिहासका विभिन्न चरणमा हाम्रा दुवै देशका अग्रजहरूले भौगोलिक विकटताको अवरोधलाई छिचोलेर ज्ञान र प्रगतिको खोजी गरेको तथ्य इतिहासमा अङ्कित छ । प्राचीन समयका अन्वेषकहरू फा सियान, बुद्धभद्र र हुयान चाङ तथा हरिततारा भृकुटी र महान कलाकार अरनिकोबाट सुरू भएको हाम्रा दुई मुलुक बीचको मित्रता आज आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक लगायत अनेकौँ आयाममा विस्तारित भएको छ । हाम्रो मैत्रीपूर्ण सम्बन्धमा सहकार्यका नयाँ अवसरहरु उपलब्ध हुँदै आएका छन् ।

नेपाल एक चीन नीतिको पक्षमा सदैव दृढतापूर्वक उभिएको छ । मित्र राष्ट्र चीनका जायज चासो र सरोकारहरूप्रति नेपाल सधैँ संवेदनशील रहेकोमा म विशेष जोड दिन चाहन्छु । नेपालको बहुआयामिक विकासका लागि मित्रराष्ट्र चीनबाट हामीले सहयोग प्राप्त गर्दै आएका छौँ । पछिल्ला वर्षहरूमा चीन सरकारद्वारा प्रवर्द्धन गरिएको ‘बेल्ट एण्ड रोड पहलʼको नेपाल सदस्य बनेको छ । हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाललाई नेपालले अवसरका रूपमा ग्रहण गरेको छ । नेपाललाई भू–परिवेष्ठित राष्ट्रबाट भू–जडित राष्ट्रका रूपमा विकास गर्नका लागि चिनियाँ भूमि हुँदै समुद्रसम्म पहुँच प्राप्त गर्न हाम्रा दुबै देशबीच सम्झौताहरू भएका छन् ।

पूर्वाधारको पनि पूर्वाधारका रूपमा रहेको शिक्षा क्षेत्रको विकासमा चीन सरकारले प्रदान गर्दै आएको सहयोगका लागि आभार प्रकट गर्दछु । यस क्षेत्रमा हाम्रो साझेदारीलाई थप सघन तुल्याउनु पर्दछ भन्ने मलाई लागेको छ । हाम्रो सहकार्यबाट उत्पादित शैक्षिक जनशक्तिको सदुपयोग गरी समृद्धिको यात्रालाई सफल बनाउनु पर्ने खाँचो रहेको मैले महसुस गरेको छु ।

नेपाल–चीन मित्रतालाई प्रगाढ बनाउन विभिन्न समयमा उच्चस्तरीय भ्रमण तथा विचार आदान प्रदान हुँदै आएका छन् । यस अवसरमा सन् २०१९ अक्टोबरमा महामहिम सी ले गर्नुभएको नेपालको ऐतिहासिक राजकीय भ्रमण एवं सोही वर्षको अप्रिल–मे मा भएको मेरो चीन भ्रमण तथा विभिन्न समयमा वहाँसँग भएका सौहार्दपूर्ण वार्ताहरूको स्मरण गर्न चाहन्छु ।

विश्वव्यापी महामारीका रूपमा देखिएको कोभिड–१९ विरुद्धको खोपलाई विश्व समुदायको सार्वजनिक सेवामा उपलब्ध गराउने र आर्थिक रूपमा सर्वसुलभ बनाई सबैको पहुँच सुनिश्चित गर्ने महामहिम सीको मानवतावादी प्रतिवद्धताबाट नेपाल लगायत विश्वका धेरै देशहरू लाभान्वित भएका छन् ।

यस सन्दर्भमा नेपालका लागि कोभिड–१९ विरूद्धको अभियानमा मित्र राष्ट्र चीनद्वारा उपलब्ध गराइएका खोप, स्वास्थ्य सामग्री र मानवीय सहयोगका लागि म नेपाली जनता र नेपाल सरकारको तर्फबाट मित्र राष्ट्र चीनका जनता र महामहिम सी प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

आज लोकार्पण गरिएको पुस्तक ‘सी चिन फिङः चीनको शासन व्यवस्था’ को दोस्रो भागको अध्ययनबाट चीनले पछिल्ला दशकमा हासिल गरेका चामत्कारिक सफलतामा महामहिम राष्ट्रपति सी चिनफिङका वैचारिक–राजनीतिक दृष्टिकोण, नीति, कार्यक्रम र तिनको सफल कार्यान्वनका लागि विकास गरिएका शासकीय प्रवन्धका बारेमा पाठकहरूले जानकारी प्राप्त गर्न सक्ने विश्वास लिएको छु ।

यसका साथै गरिबी निवारण र सुशासनका क्षेत्रमा चीनले हासिल गरेको सफलताबाट नेपाल लगायत विश्वका अन्य विकासशील राष्ट्रहरूलाई समेत प्रेरणा प्राप्त हुनेछ भन्ने मलाई लागेको छ ।

अन्तमा‚ चीनका महामहिम राष्ट्रपति सी चिनफिङद्वारा लिखित ‘सी चिनफिङः चीनको शासन व्यवस्था‚ खण्ड २’ लाई अनुवाद गरी नेपाली पाठकसमक्ष ल्याउने चीन अध्ययन केन्द्र र अनुवादमा संलग्न विद्वानहरूलाई धन्यवाद दिन चाहन्छु ।

पुस्तकको खण्ड ३ लाई नेपाली भाषामा अनुवाद गरी पाठकहरू समक्ष पु¥याउने प्रतिवद्धता व्यक्त भएकोमा समेत सफलताका लागि अग्रिम शुभकामना दिन चाहन्छु ।

कार्यक्रममा भिडियो मार्फत शुभकामना सन्देश दिनुहुने चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू प्रति आभार प्रकट गर्दै यहाँ उपस्थित भई शुभकामना प्रकट गर्नु भएकोमा महामहिम राजदूत होउ याङ्चीलाई धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ।

२०७८ असोज ७ गते बिहीबार ।

राष्ट्रपति भवन‚ महाराजगञ्ज‚ काठमाडौं ।