सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रेस काउन्सिल नेपालको ५२ औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री,

प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा पदाधिकारीहरू,

आज सम्मानित पुरस्कृत पत्रकारहरू,

राष्ट्रसेवकहरू,

भद्रमहिला तथा सज्जनवृन्द !

प्रेस काउन्सिल नेपालको ५२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित यस समारोहमा उपस्थित सबैलाई स्वागत गर्दै काउन्सिल परिवारप्रति हार्दिक शुभकामना प्रकट गर्दछु । यस अवसरमा, प्रेस काउन्सिलको स्थापना कालदेखि वर्तमान अवस्थासम्मका अनेक चरणहरूमा महत्वपूर्ण योगदान गर्ने सम्बद्ध सबैको सराहना गर्दछु । आज पुरस्कृत र सम्मानित पत्रकारहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

लोकतन्त्र र आमसञ्चार क्षेत्रलाई एक अर्काको परिपूरकको रूपमा लिनु पर्दछ । राज्यको चौथो अङ्गको रूपमा स्वीकार गरिँदै आएको आमसञ्चार क्षेत्र लोकतन्त्र र मानव अधिकार प्रवद्र्धनका लागि अभिन्न अङ्गको रूपमा रहेको छ । लोकतन्त्रको सफलताका लागि अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक अपरिहार्य छ । त्यसैगरी जिम्मेवार पत्रकारिता, सुसूचित आमजनता र जवाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन् । आचारसंहिताको पालनाबाट जिम्मेवार पत्रकारिताको विकास गर्न र प्रेस स्वतन्त्रताको संरक्षण गर्न सहयोग नै पुग्दछ । यसका लागि प्रेस काउन्सिलले निरन्तर रूपमा भूमिका खेलिरहेकै छ भन्ने मलाई लागेको छ । आगामी दिनमा काउन्सिलले आफूलाई अझै व्यवस्थित रूपमा अघि बढाउन सकोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।

नेपालमा पत्रकारितालाई प्राज्ञिक विषयका रूपमा विकास गरी विश्वविद्यालयहरूले अध्ययन अध्यापन गराउन थालेको करिब पाँच दशक पुग्न लागेको छ । व्यावसायिक पत्रकारिताको विकासका लागि धेरै संघसंस्थाहरू क्रियाशील छन् । विश्वविद्यालय, सम्बन्धित सरकारी निकाय एवम् विभिन्न अनुसन्धान संस्थाहरूसँग समन्वय गरी प्राज्ञिक संस्थाबाट उत्पादित जनशक्तिको सहायता लिँदै व्यावसायिक पत्रकारिताको विकासमा प्रेस काउन्सिलले अग्रसरता लिन सक्दछ ।

नयाँ प्रविधिको विकाससँगै सूचना र सञ्चारका क्षेत्रमा झुठो समाचार र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती  बनेको छ । यसको सामना गर्दै पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार बनाई जनताको सुसूचित हुन पाउने अधिकारको संरक्षणका लागि प्रेस काउन्सिल नेपालले मिडिया अनुगमन, अनुसन्धानका साथै गैरपेशागत आचरण देखाउने सञ्चारमाध्यम र पत्रकारको पहिचान गरी कानुनी उपचारका लागि गरेको पहल सराहनीय छ ।

नेपालको राजनीतिक परिवर्तनका लागि सञ्चार माध्यमले खेलेको भूमिका महत्वपूर्ण रहेको छ । प्रजातन्त्रको पुनस्र्थापना र गणतन्त्र प्राप्तिका लागि भएका संघर्षमा पत्रकारहरूले ज्यानको आहुति समेत दिनुपरेको थियो । तसर्थ, मुलुकमा आएको परिवर्तनलाई संस्थागत गर्नका लागि पत्रकारहरूको सक्रियता रहनुपर्दछ ।

नेपालको पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्न काउन्सिल अझै मजबुत हुनुपर्छ । काउन्सिल प्रतिको आशा भरोसा बढाउने जिम्मा काउन्सिल स्वयमको हो भन्नेतर्फ सम्बद्ध सबैको ध्यान जानु आवश्यक छ ।

पछिल्लो समय काउन्सिलले प्रेस संग्रहालय स्थापना गर्न लागेको जानकारी पाउँदा मलाई खुशी लागेको छ । यसबाट नेपालमा आम सञ्चारको विकास प्रक्रियाका बारेमा अभिलेखीकरण भई हाम्रो भावी पुस्ता र विश्वभरिका जिज्ञासुलाई इतिहास हस्तान्तरणमा सहयोग पुग्दछ  । यस कार्यलाई छिटो पूर्णता दिनका लागि बर्तमान नेतृत्वले सफलता प्राप्त गरोस् भनी शुभेच्छा प्रकट गर्दछु ।

प्रेस काउन्सिल विश्वव्यापी मान्यता प्राप्त निकाय भएकाले यसले नेपालको सञ्चार क्षेत्रलाई अव्बल रूपमा उभ्याउन सक्नुपर्दछ । साथै, काउन्सिललाई स्वतन्त्र, स्वायत्त र प्रभावकारी बनाउन सबै निकायबाट सहयोग हुनुपर्दछ ।

बितेका करिब दुई वर्ष सञ्चारमाध्यम र पत्रकार जगतले कोभिड–१९ को महामारीबाट पीडित हुनुपरेकोमा मलाई दुःख लागेको छ । संक्रमणको जोखिमपूर्ण परिस्थितमा पनि समाचार संप्रेषण गर्दै पेशाप्रतिको दायित्व बहन गर्न तत्पर रहेकोमा सम्पूर्ण पत्रकारीता जगतलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

अन्तमा, लोकतन्त्रको निरन्तर अभ्यासको क्रममा आमसञ्चारको क्षेत्रमा देखिएका कतिपय कमी कमजोरीहरू क्रमशः हट्दै जानेछन् भन्ने आशा गर्दै पत्रकार जगतले आचारसंहिता पालना समेतबाट जिम्मेवार पत्रकारिता गरिरहने विश्वास लिएको छु ।

धन्यवाद ।

२०७८ आश्विन ६, बुधबार

राष्ट्रपति भवन ।