सम्मानीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले बुढानीलकण्ठ स्कुलको स्वर्ण महोत्सव समारोहमा गर्नुभएको सम्बोधन

स्वर्ण महोत्सव समारोहका अध्यक्षज्यू,

संघीय संसदका वर्तमान तथा पूर्व सदस्यहरू,

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू,

विद्यालयका शिक्षक‚ विद्यार्थी एवं अभिभावकहरू,

राष्ट्रसेवकहरू‚

सञ्चारकर्मीहरू‚

भद्र महिला तथा सज्जनवृन्द ।

नेपालको शिक्षा क्षेत्रमा गौरवपूर्ण इतिहास बोकेको बूढानीलकण्ठ स्कुलले स्थापनाको पचास वर्ष पूरा गरी मनाउँन लागेको स्वर्ण महोत्सव समारोहमा उपस्थित भई तपाईहरूसँग भेट गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा म विद्यालयसँग सम्बद्ध सबैमा हार्दिक बधाई सहित शुभकामना व्यक्त गर्दछु ।

मुलुकको सम्पूर्ण भूगोलमा छरिएका जातजाति, वर्ग र सम्प्रदायका बालबालिकालाई स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ वि.सं. २०२८ सालमा  यस विद्यालयको स्थापना भएको हो । पचास बर्षे यात्राका दौरानमा यस विद्यालयले आफ्नो उद्देश्यअनुरूप मुलुककै उदाहरणीय शैक्षिक केन्द्रका रूपमा आफुलाई स्थापित गरेको छ ।

पचास वर्षको यात्रामा यस विद्यालयले पठनपाठनका क्षेत्रमा समयानुकूल सुधार गर्दै उत्कृष्टता कायम राख्न सफल भएकोमा सराहना गर्दछु । यस विद्यालयबाट उत्पादन भएका विद्यार्थीहरू संसारका जुनसुकै ठाउँमा प्रतिस्पर्धा गर्न सक्ने र आफूलाई नेतृत्वदायी भूमिकामा राख्न सक्ने क्षमतायुक्त भएका छन् भन्ने कुरा उनीहरू देशका आर्थिक, राजनीतिक, सामाजिक लगायत विभिन्न क्षेत्रमा सक्रिय योगदान गरिरहेको वास्तविकताले यसलाई पुष्टि गर्दछ । बहुलताको सम्मान, समावेशीकरण र राष्ट्रियताको भाव अभिवृद्धि गर्ने आधारशिलामा उभिएको यस विद्यालयले यही आदर्शमा आधारित भई पचास वर्षको अवधिमा हजारौँ विद्यार्थीलाई दीक्षित गरेको छ । विद्यालय शिक्षाबाट हासिल गरेको संस्कार र ज्ञान व्यक्तिको जीवनमा चीरस्थायी रहन्छ । बुढानीलकण्ठ स्कुलले शिक्षाको यस आधारभूत मान्यतालाई आत्मसात गरेको जानकारी पाउँदा मलाई खुसी लागेको छ ।

हाम्रो देश नेपाल सभ्यता र संस्कृतिको अतुलनीय सङ्गम भएको मुलुक हो । यहाँको भूमिमा ज्ञानको नयाँ क्षेत्रका खोजी र प्रयोगहरू भएका छन् । त्यसैले हामी नेपाललाई ज्ञानभूमि र शान्तिभूमि मान्दछौँ । इतिहासले सुम्पेको त्यस महान विरासतलाई हाम्रो आजको पुस्ताले न्याय गर्न सक्नु पर्दछ र एउटा सभ्य‚ विकसित र चिन्तनशील राष्ट्र भावी पुस्तालाई हस्तान्तरण गर्न सक्नु पर्दछ । यस कार्यमा बुढानीलकण्ठ स्कुल जस्ता शैक्षिक संस्थाहरूले अग्रणी भूमिका खेल्न सक्दछन् ।

आज हामीले बाँचिरहेको समय विज्ञान र प्रविधिको अभूतपूर्व विकासबाट निर्देशित रहेको छ । हरेक दिनजस्तो प्रविधिको क्षेत्रमा नयाँ र चमत्कारपूर्ण उद्भवहरू भइरहेका छन् । यसबाट ज्ञानको दायरा असिमित रूपमा विस्तार हुँदै गएको छ । परम्परागत सोच र चिन्तनले मात्र अबको पुस्ता सफल बन्न सक्दैन । त्यसैले हाम्रो सभ्यताले विकास गरेको ज्ञानसँग वर्तमान समयको विज्ञान र प्रविधिलाई जोड्न सकेको खण्डमा नेपालले फेरि नयाँ सभ्यताको रचना गर्न सक्दछ । यसलाई मैले विभिन्न समयमा हुने छलफलहरूमा नेपाली सभ्यताको पुनर्जागरणको रूपमा उल्लेख गर्दै आएको छु । राष्ट्रिय पुनर्जागरणको महाअभियानका लागि राष्ट्रप्रेम, राष्ट्रिय एकता र मुलुकको समृद्धिमा योगदान गर्न सक्ने  लोकतान्त्रिक मान्यतामा विश्वास भएका नागरिकको आवश्यकता पर्दछ । बुढानीलकण्ठ जस्ता विद्यालयले प्रविधि र परम्परागत मूल्य मान्यतालाई एकै स्थानमा सिकाउँदै हाम्रा बालबालिकालाई आगामी दिनमा अझ बढी प्रतिस्पर्धी, सहयोगी, प्रविधिमैत्री र कुशल नेतृत्व गुणले सम्पन्न बनाउन सक्दछन् ।

गुणस्तरीय शिक्षामा आम नागरिकको पहुँच सुनिश्चित गर्नका लागि बूढानीलकण्ठ स्कुल आदर्श नमुना विद्यालयका रूपमा रहेको छ । भविष्यमा सफलताको नयाँ उचाई हासिल गर्न भावी रणनीति तय गरी अर्को ५० वर्षमा विद्यालय कस्तो हुने भन्ने स्पष्ट मार्गचित्रसहितको गुरुयोजनासहितका कार्यक्रमहरू अगाडि सार्नुपर्दछ । यस्तो विद्यालय अब राजधानीमा  मात्र सिमित नरहेर देशका अन्य भागमा समेत सञ्चालन हुन सकेमा गुणस्तरीय शिक्षाको राष्ट्रिय लक्ष्य हासिल गर्न अवश्य सहयोग पुग्ने छ ।

बूढानीलकण्ठ स्कुलको स्वर्ण यात्रा सफल बनाउन विभिन्न क्षेत्रबाट योगदान  पुर्‍याउने निकाय‚ संघसंस्था एवं व्यक्तित्वहरूलाई हार्दिक बधाईसहित धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि विद्यार्थी र विद्यालयको सर्वतोमुखी विकासका लागि सबैलाई एकजुट हुने प्रेरणा मिल्ने विश्‍वास व्यक्त गर्दछु । प्राप्त उपलब्धिको संरक्षण र सफलताका नवीन चुली चुम्दै विद्यालय अझ सुदृढ बन्दै अघि बढ्ने अपेक्षासहित तपाईँहरू सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद !

२०७९ फागुन ५ गते शुक्रबार ।

बुढानीलकण्ठ‚ काठमाडौँ ।