सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महाशिवरात्री पर्व २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

  • महाशिवरात्री पर्व, २०७९ को शुभकामना सन्देश

महाशिवरात्री पर्व, २०७९ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रकृति‚ योग र जीवनसँग अभिन्न सम्बन्ध राख्ने सनातन संस्कृतिको उद्भव एवं विकासमा नेपाली परम्पराको विशिष्ट योगदान रहेको छ । हाम्रो मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्‍वास प्रतिविम्बित भएको पाइन्छ । पौराणिक साहित्यमा शिवको निवास र विचरण स्थलका रूपमा वर्णन गरिएका पशुपति क्षेत्र‚ हिमवत खण्ड र मानस खण्डको भूभाग मुलभूत रूपमा नेपालमा पर्दछ । यसैकारण पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई शिवको स्वरुपका रूपमा आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक आकर्षणको केन्द्र र पवित्र तीर्थस्थलका रूपमा रहिआएको छ ।

प्रकृतिसँग अभिन्न रूपले जोडिएको शिव शक्तिमा सिर्जनात्मक एवं संहारकारी शक्तिको समान प्रतिनिधित्व भएको पाइन्छ । प्रकृतिसँग तादात्म्य कायम गर्दै मानव जातिले प्रगतिको बाटो पहिल्याउन सक्छ भन्ने यथार्थलाई हाम्रा अनेक चाडपर्व जस्तै महाशिवरात्रीले पनि अभिव्यक्त गर्दछ ।

नेपाल प्रकृति र संस्कृतिको अद्वितीय सङ्गम भएकाले हाम्रो सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाहरूको संरक्षणमा पर्याप्त ध्यान जानु आवश्यक छ । पुर्खाको नासोका रूपमा हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो । पशुपति क्षेत्रको आधार हुनुका साथै काठमाडौँ उपत्यकाको मुख्य जलाधार क्षेत्र मानिने वागमती‚ रुद्रमती‚ इच्छुमती लगायतका नदी लगायत मुलुकभरिका फैलिएका पानीका स्रोतहरू समेत स्वच्छ र सफा राख्न आजका दिनले सबैलाई प्रेरणा मिल्ने विश्‍वास लिएको छु ।

अन्तमा, महाशिवरात्री पर्व २०७९ ले हामी सबैको जीवनमा आध्यात्मिक चेतनाको नयाँ उज्यालो छर्न सकोस् भनी पुन: शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७९ फागुन ६ गते, शनिबार  |