सम्मानीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूले भाष्कर तेजश्री स्मृति प्रतिष्ठानद्वारा आयोजित तेजश्री स्कूल नवयुवा यौन दुर्व्यहार प्रतिरोध सशक्तीकरण पहल अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा गर्नु भएको सम्बोधन

भाष्कर तेजश्री स्मृति प्रतिष्ठानका संरक्षक डा. भेष बहादुर थापाज्यू‚ अध्यक्ष डा. रिता थापाज्यू  एवं पदाधिकारीहरू‚

राष्ट्रसेवकहरू‚

सञ्चारकर्मीहरू

उपस्थित भद्र महिला तथा सज्जनवृन्द,

भाष्कर तेजश्री स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सहभागी भएर तपाईँहरूसँग सात्क्षात्कार गर्न पाउँदा मलाई खुसी लागेको छ । म तपाईँहरू सबैलाई राष्ट्रपति भवनमा हार्दिक स्वागत गर्दछु ।

मानवअधिकारको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने दिवंगत तेजश्री थापाको योगदानको स्मरण गर्दै आयोजना गरिएको यो कार्यक्रमले नेपाल लगायत विश्वका विभिन्न देशमा महिला हिंसाविरुद्ध उहाँले गर्नु भएका कार्यलाई थप चिनाउने मैले विश्वास लिएको छु ।

वर्तमान विश्वमा मानव विकासलाई अवरोध गर्ने प्रमुख चुनौतिको रूपमा रहेको लैङ्गिक विभेदबाट हाम्रो समाज पनि मुक्त रहेको छैन । बाल्यावस्थादेखि नै सुरु हुने लैङ्गिक विभेदले महिलाको व्यक्तित्व विकासमा मात्र होइन‚ हरेक मुलुकको सर्वाङ्गीण विकासमा नै अवरोध गर्दछ । सामाजिक र आर्थिक क्षेत्रमा हुने भेदभावपूर्ण व्यवहारले लैङ्गिक असमानता एवं अन्य व्यक्तिगत र सामाजिक दुर्व्यवहारको दुष्चक्रलाई बढावा दिन्छ भन्ने पक्षलाई विभिन्न अध्ययनले पुष्टि गरेका छन् ।

लैङ्गिक असमानताको नकारात्मक असर महिलामा मात्र सिमित नभई पूरै परिवारको शान्ति‚ प्रगति र स्वास्थ्यमा पर्दछ । तसर्थ लैङ्गिक समानताको लक्ष्य हासिल गर्ने महाभियानमा पुरुषहरूको पनि सक्रिय र व्यापक सहभागिता हुनुपर्नेमा हामी सबैले जोड दिनु पर्दछ ।  भाष्कर तेजश्री स्मृति प्रतिष्ठानको यस अध्ययनको क्रममा छात्राहरूलाई मात्र नभई छात्रहरूलाई पनि समावेश गर्नु राम्रो पक्ष हो । यस अध्ययनले किशोर र किशोरी विद्यार्थी दुवैलाई नै लैंगिक असमानता र यौन दुर्व्यवहारको रोकथाम गर्न सशक्त बनाउन सकिने तथ्य देखाएको छ भन्ने मलाई लागेको छ ।  यस प्रकारका अध्ययनबाट प्राप्त तथ्य, तथ्याङ्कको आधारमा निकालिएका निश्कर्षहरू हाम्रो समाजबाट लैंगिक विभेद तथा यौन दुर्व्यवहारलाई अन्त्य गर्नका लागि आवश्यक रणनीति तय गर्न उपयोगी हुने मैले विश्‍वास लिएको छु ।

किशोर–किशोरीहरूको पंक्तिले मुलुकको समग्र जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको छ । यसै समूहबाट देशलाई नेतृत्व गर्न सक्ने सक्षम पुस्ताको उदय हुन सक्दछ । तसर्थ किशोरकिशोरीहरू लैङ्गिक विभेद तथा यौन दुर्व्यवहार जस्ता सामाजिक समस्या विरुद्ध विरुद्ध सशक्त भएमा निश्चय पनि भोलिको नेपाली समाज अझ सशक्त हुँदै जाने विश्वास व्यक्त गर्दछु ।

अन्तमा, यस्तो महत्वपूर्ण अध्ययनको सराहना गर्दै प्रा. डा. रीता थापा लगायत भाष्कर–तेजश्री स्मृति प्रतिष्ठान तथा प्रतिष्ठानका पदाधिकारीहरू‚ सहयोगी संस्थाहरू तथा यस अध्ययनसँग सम्बद्ध सबैलाई हार्दिक बधाई सहित शुभकामना दिन चाहन्छु । साथै, भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानको उज्जवल भविष्यको कामना गर्दछु ।

धन्यवाद ।

२०७९ साल कार्तिक २९ गते मङ्गलबार