सम्मानीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले लोक सेवा आयोगको ७२ औं वार्षिकोत्सव समारोहमा गर्नुभएको सम्बोधन

लोक सेवा आयोग स्थापनाको ७२औँ वार्षिकोत्सव मूल समारोहका अध्यक्ष तथा लोक सेवा आयोगका माननीय अध्यक्ष,

लोक सेवा आयोगका माननीय सदस्यहरू,

राष्ट्रसेवकहरू,

भद्रमहिला तथा सज्जनवृन्द !

लोक सेवा आयोगको ७२औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस समारोहमा सहभागी भई आयोगले हासिल गरेका उपलब्धि र मुलुकको विकासमा पुर्‍याएको योगदानबारे अन्तर्क्रिया गर्न पाउँदा मलाई खुसी  लागेको छ ।

देशको सबैभन्दा लामो इतिहास भएको संवैधानिक आयोगको रूपमा रहेको लोकसेवा आयोगलाई नेपालको संविधानले निजामती सेवाका लागि उपयुक्त उम्मेदवार छनौट गर्ने तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एवम् अन्य सरकारी सेवामा पदपूर्तिका लागि लिइने परीक्षा सञ्चालन गर्ने जिम्मेवारी प्रदान गरेको छ । यसका साथै‚ लोक सेवा आयोगले हाम्रो संघीय सरकारी सेवा र सङ्गठित संस्थाका कर्मचारी व्यवस्थापनका विभिन्न विषयमा परामर्श समेत प्रदान गर्दै आएको छ ।

मुलुकको स्थायी सरकारको रूपमा चिनिने निजामती प्रशासन र अन्य सार्वजनिक सेवाको क्षेत्रमा प्रतिभाशाली, दक्ष र योग्य जनशक्ति प्रवेश गराउने मुख्य जिम्मेवारी बोकेको यस आयोगले योग्यता, निष्पक्षता, स्वच्छता, समान अवसर, समावेशिता तथा गोपनीयता लगायतका मुख्य सिद्धान्तमा आधारित भई कार्यसम्पादन गर्दै आएको छ । लोक सेवा आयोगको निष्पक्षता र विश्वसनीयताले नागरिक स्तरमा उदाहरण स्थापित गर्न सफल भएको मलाई लागेको छ ।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको अनामनगर स्थित आयोगको साविकको केन्द्रीय कार्यालय हालै कमलपोखरी स्थित नयाँ भवनमा स्थानान्तरण भएको र पुरानो भवनलाई परीक्षा सञ्चालन गर्ने कार्यमा प्रयोग गरिएकोमा मलाई खुसी लागेको छ । यसबाट आयोगको काममा सहजता आउने मैले विश्वास लिएको छु ।

यसैगरी विज्ञान र प्रविधिमा भएको विकास र चुलिँदो जनअपेक्षालाई सम्बोधन गर्न आयोगको सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने प्राविधिक संरचनाको स्तरोन्नति गर्दै यस आयोगको अनलाइन सेवालाई नागरिक एपसँग जोड्ने कार्य हुँदै गरेको थाहा पाउँदा मलाई धेरै खुसी लागेको छ । यसबाट आम नागरिकलाई लोक सेवा आयोगका सेवाहरू प्राप्त गर्न सरल र सहज हुने मैले अपेक्षा लिएको छु । यसरी नै नयाँ युगका नयाँ चुनौतीहरूलाई सामना गर्न सक्ने गरी आफूलाई निरन्तर रूपमा सुधार एवं विकास गर्दै अगाडि बढ्नु आवश्यक छ ।

ठूलो राजनीतिक परिवर्तनपश्चात् मुलुक अब क्रमश: आर्थिक रूपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसार भैरहेको छ  । जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउने दायित्व मुलुकको निजामती सहितका सरकारी संयन्त्रमा रहेकाले सोही अनुरूपको जनशक्ति छनौट गर्नु अत्यावश्यक हुन जान्छ ।

जनताको समृद्धिको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र सोही अनुरुप कर्तव्य पालन गर्न सक्ने मानव स्रोतको पहिचान गरी सरकारी सेवालाई बलियो बनाउने अधिकार प्राप्त संवैधानिक अङ्गको रूपमा रहेको लोक सेवा आयोगले समेत त्यसलाई आत्मसात गर्दै आफ्नो दायित्व पूरा गर्न कटिबद्ध हुने मैले विश्वास लिएको छु । चुस्त व्यवस्थापकीय क्षमतायुक्त‚ इमान्दार‚ कर्तव्यनिष्ठ र विषयगत दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनौट प्रणालीमा समय सापेक्ष सुधार गर्नेतर्फ आयोगको थप ध्यान जाने अपेक्षा लिएको छु ।

आजको यस कार्यक्रममा सम्मानित हुनु भएको व्यक्तित्व‚ पुरस्कृत उत्कृष्ट कर्मचारी तथा अतिरिक्त कृयाकलापका विजेता टोलीलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

अन्त्यमा, यस कार्यक्रमको सफलताको कामना गर्दै आयोगले अझ उल्लेखनीय उपलब्धिहरू प्राप्त गर्दै जाने विश्वास व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७९ साल असार १ गते‚ बुधबार ।

कमलपोखरी‚ काठमाडौँ ।