सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले लायन्स क्लबद्वारा आयोजित सम्मान कार्यक्रममा गर्नुभएको सम्बोधन

माननीय परराष्ट्र मन्त्री‚

लायन्स क्लबका गभर्नर‚

लायन्स क्लबका पूर्व गभर्नरहरू‚

यहाँ उपस्थित राष्ट्रसेवकहरू‚

सञ्चारकर्मीहरू‚

भद्र महिला तथा सज्जनवृन्द ।

लायन्स क्लबद्वारा आफ्ना संस्थापक सदस्य तथा नेपालमा लायन्स क्लबको अभियान तथा समाजसेवा कार्यमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रममा सहभागी भई अग्रणी समाजसेवी व्यक्तित्वहरूसँग भेटघाट गर्न पाउँदा मलाई खुसी लागेको छ । यहाँहरू सबैलाई म राष्ट्रपति भवनमा हार्दिक स्वागत गर्न चाहन्छु ।

समाजसेवा, नेतृत्व विकास र भाईचारा सम्बन्धको विस्तार गर्ने मूल उद्देश्यसहित स्थापित लायन्स क्लबले आफ्नो निर्दिष्ट लक्ष्य हासिल गर्न निर्वाह गर्दै आएको भूमिकाको म सराहना गर्दछु । नेपालमा लायन्स क्लबहरूले स्वास्थ्य‚ शिक्षा‚ वातावरण संरक्षण‚ विपद् प्रभावितहरूका लागि राहत लगायतका क्षेत्रमा योगदान पुर्‍याउँदै आउनु खुसीको विषय हो । यसबाट अन्य सामाजिक संघसंस्थालाई समेत प्रेरणा प्राप्त हुँदै आएको कुरा मैले महसुस गरेको छु ।

लायन्स क्लबले रक्तदान, बालबालिकामा हुने क्यान्सर, आँखा उपचार जस्ता जनस्वास्थ्यका क्षेत्रमा योगदान गर्दै आएको कुरा सर्वविदितै छ । यस संस्थाले  हाम्रो मुलुकमा अस्पताल, विद्यालय, बाल गृह निर्माणमा सहयोग पुर्‍याउँदै आइरहेको छ । साथै यसले सञ्चालन गर्ने परियोजनाहरूमा न्यून प्रशासनिक खर्च हुने गरेको कुरा थाहा पाउँदा मलाई खुसी लागेको छ ।

हाम्रो मुलुक ठूलो राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको छ । यहाँ उपलब्ध प्राकृतिक स्रोत‚ सम्पदा र मानव संसाधनको दिगो उपयोग गर्दै विकास निर्माण प्रक्रियालाई तीव्रता दिनुपर्ने आजको आवश्यकता हो । कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै औद्योगिक विकासमा राज्यले ध्यान दिनु पर्दछ । यसका निम्ति उद्यमशीलताको विकासमा जोड दिँदै उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नु पर्दछ । यसबाट रोजगारीको सृजना हुने‚ आयात प्रतिस्थापनमा टेवा पुग्ने र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सहयोग पुग्नेछ । तसर्थ‚ मुलुकको आर्थिक समृद्धिको यस अभियानमा सार्वजनिक‚ निजी‚ सहकारी तथा सामुदायिक क्षेत्र सबै नै आ–आफ्नो क्षेत्रबाट अग्रसर हुनु पर्दछ भन्ने मलाई लागेको छ ।

समाजमा विद्यमान पछौटेपन‚ कुसंस्कार र कुपरम्परालाई अन्त्य गरी सभ्य‚ सुसंस्कृत र समुन्नत राष्ट्र निर्माण गर्न लायन्स जस्ता सामाजिक संघ–संस्थाहरूको महत्वपूर्ण भूमिका हुन्छ । शैक्षिक जागरण तथा सामाजिक सचेतना अभिवृद्धिमार्फत सबै प्रकारका विकृति विसंगितहरूको अन्त्य गर्न यस्ता संस्थाहरू सदैव क्रियाशील बन्नु पर्दछ । भविष्यका जिम्मेवार नागरिक आजका कलिला बालबालिकाको पठनपाठनलाई गुणस्तरयुक्त तुल्याउँन समेत सामाजिक संस्थाहरूले ध्यान पुर्‍याउँनु पर्दछ । विद्यार्थीहरूमा अनुशासनको भावना जागृत गर्दै राष्ट्र र राष्ट्रियताप्रति जागरुक बनाउँन आवश्यक शैक्षिक पूर्वाधारको विकासमा सम्बद्ध पक्षले जिम्मेवारीपूर्वक काम गर्नु पर्दछ ।

भूकम्प‚ बाढी‚ पहिरो लगायतका प्राकृतिक प्रकोपबाट हाम्रो मुलुकमा वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ । यस्ता विपदबाट प्रभावितहरूको उद्धार‚ राहत‚ पुनर्थापनाका लागि राज्य त सँधै तम्तयार रहनै पर्दछ । यसका साथै समुदाय‚ निजी क्षेत्र र स्वयंसेवी सामाजिक संघसंस्थाहरूको समेत एकताबद्ध प्रयत्न आवश्यक हुन्छ । लायन्स क्लबले आगामी दिनहरूमा यस दिशामा थप प्रभाकारी भूमिका खेल्ने छ भन्ने मैले अपेक्षा गरेको छु ।

अन्तमा‚ आज सम्मानित हुनुहुने विशिष्ट व्यक्तित्वहरूलाई पुन: हार्दिक बधाई दिदै उहाँहरूको दीर्घ जीवन र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद ।

२०७९ जेठ २९ गते आइतबार ।