सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उभौली पर्व, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

उभौली पर्व, २०७८ को शुभकामना सन्देश

किराँत समुदायको महान् पर्व उभौलीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका राई, लिम्बू, याक्खा, सुनुवार लगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

जाडो सकिएर गर्मी सुरु हुने बेला अर्थात् वसन्त ऋतुको आगमनसँगै मानिस¸जीवजन्तु तथा पशुपंक्षीहरू बेँसीबाट लेकतिर बसाइँ सर्ने समयमा पितृ र प्रकृतिपूजक किराँत समुदायले वैशाख शुक्ल पूर्णिमा (वैशाखे पूर्णे) को दिन उभौली पर्व मनाउने गर्दछन् । यो समय बालीनाली लगाउने बेला समेत भएकाले लगाइएको अन्नबाली सप्रियोस्¸ रोगव्याधि नलागोस्¸ खडेरी¸ बाढी¸ पहिरो जस्ता प्राकृतिक विपत्तिहरू नआऊन् भनी भूमिपूजा र पितृपूजा गर्ने परम्परा रहेको छ । विशेषगरी पूर्वी पहाड र तराईका जिल्लाहरूका साथै काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायले यो पर्वलाई भव्यताका साथ मनाउने गर्दछन् ।

जातीय¸ भाषिक र सांस्कृतिक बहुलता नेपाली समाजको मौलिक पहिचान हो । यो हाम्रो कमजोरी हैन बरु शक्ति हो । यस प्रकारका चाडपर्वहरूले विविध जातजाति र समुदाय बीच आपसी सद्‌भाव¸ सहिष्णुता र बन्धुत्वको भावनालाई अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन टेवा पुर्‍याउने विश्‍वास लिएको छु ।

उभौली पर्वको यस समयमा विश्‍वव्यापी महामारी कोभिड-१९ को सङ्क्रमण तीव्र बनेकाले यसलाई नियन्त्रण गर्न नेपाल सरकारले विभिन्न सहर एवं जिल्लाहरूमा निषेधाज्ञा जारी गरेको छ । तसर्थ सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्डहरू र निषेधाज्ञाका नियमहरूको पालना गर्दै सुरक्षित रूपमा उभौली पर्व मनाउनका लागि म सबैलाई हार्दिक आह्वान गर्दछु ।

अन्तमा, उभौली पर्वले सम्पूर्ण नेपालीहरू बीच आपसी एकता, सहयोग र सद्‌भाव अभिवृद्धि गरी सभ्य¸ सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७८ जेठ १२ गते बुधबार ।