सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू र मित्र राष्ट्र चीनका महामहिम राष्ट्रपति सी चिङफिङ बीच टेलिफोन वार्ता सम्पन्न

जेठ १६‚ काठमाडौं ।

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी र मित्र राष्ट्र चीनका महामहिम राष्ट्रपति सी चिङफिङ बीच आज टेलिफोन वार्ता सम्मपन्न भयो । वार्ताको सिलसिलामा दुवै देशका राष्ट्र प्रमुखहरूको बीचमा कोभिड–१९ महामारीविरुद्ध सहयोगका साथै समग्र द्विपक्षीय आपसी सम्बन्धका विषयमा विचार आदानप्रदान भएको थियो ।

वार्ताको क्रममा सम्माननीय राष्ट्रपतिज्यूले कोभिड–१९ महामारी विरुद्ध लड्न नेपाललाई जीवनदायी औषधिका साथै अत्यावश्यक स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएकोमा जनवादी गणतन्त्र चीन सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सम्माननीय राष्ट्रपतिज्यूले कोभिड–१९ विरुद्धको खोप विश्‍वको सार्वजनिक वस्तु हुनु पर्ने राष्ट्रपति सि चिङफिङले गर्नुभएको घोषणाको प्रशंसा गर्नुहुँदै यसअघि चीन सरकारद्वारा नेपाललाई उपलब्ध गराएको ८ लाख खोपका लागि समेत धन्यवाद ज्ञापन गर्नुभयो । यसरी नै सम्माननीय राष्ट्रपतिज्यूले चीनका महामहिम राष्ट्रपतिसमक्ष चीनबाट कोभिड–१९ विरुद्धको खोप खरिद गर्नका लागि सहजीकरण गरिदिनका लागि समेत अनुरोध गर्नुभयो ।

महामहिम राष्ट्रपति सीले महामारीको दोस्रो लहरका कारण नेपालले व्यहोर्नु परेको समस्याको बारेमा आफु जानकार रहेको बताउनु हुँदै नेपालको कोभिड–१९ विरुद्धको अभियानमा चीन सरकारको पूर्ण सहयोग रहने कुरा समेत बताउनुभयो । टेलिफोन संवादको क्रममा महामहिम राष्ट्रपति सीले नेपाललाई तत्काल थप दश लाख मात्रा कोभिड–१९ विरुद्धको खोप अनुदान स्वरुप उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

महामहिम राष्ट्रपति सीले चीनद्वारा कोभिड–१९ विरुद्धको खोप र सहयोग उपलब्ध गराइने मुलुकमा नेपाल प्राथमिकतामा रहने समेत आश्‍वासन दिनुभएको छ ।

सम्माननीय राष्ट्रपतिज्यूले यस कठीन घडीमा नेपाललाई थप खोप अनुदान स्वरुप उपलब्ध गराउने घोषणा गर्नुभएकोमा महामहिम राष्ट्रपति सीप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।