सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २५६५औँ बुद्ध जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

२५६५औँ  बुद्ध जयन्तीको शुभकामना सन्देश

बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव एवं विश्‍व शान्तिका अग्रदूत गौतम बुद्धको २५६५औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि-संयोग अर्थात् जन्म¸ ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्‍वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ ।

विश्‍वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय हो । बुद्ध जयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिंदै प्रगतिको बाटोमा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्दछ । शान्तिदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक¸ सामाजिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्‍भाव¸ सहिष्णुता र बन्धुत्वको  भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ हुनका साथै यसबाट विश्‍व  शान्तिका लागि समेत मद्दत पुग्नेछ भन्ने मलाई लागेको छ ।

यस समयमा विश्वव्यापी महामारी कोभिड-१९ को सङ्क्रमण तीव्र बनेकाले यसलाई नियन्त्रण गर्न नेपाल सरकारले विभिन्न सहर एवं जिल्लाहरूमा निषेधाज्ञा जारी गरेको छ । तसर्थ सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्डहरू र निषेधाज्ञाका नियमहरूको पालना गर्दै सुरक्षित रूपमा बुद्ध जयन्ती मनाउनका लागि म सबैलाई हार्दिक आह्वान गर्दछु ।

अन्तमा, सम्पूर्ण विश्‍वले कोभिड-१९ को महामारीबाट शीघ्रातिशीघ्र उन्मुक्ति पाउनेछ भन्ने आशा गर्दै २५६५औँ बुद्ध जयन्तीको यस अवसरले नेपालीहरूको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित  गर्न सकोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७८ जेठ १२ गते बुधबार ।