सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट हरितालिका तीज, २०७६ को अवसरमा ब्यक्त शुभकामना सन्देश ।

हरितालिका तीज, २०७६ को अवसरमा ब्यक्त शुभकामना सन्देश ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्‍भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु।

साँस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको यस पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर भगवान शिव–पार्वतीको पूजा आराधना गर्ने प्रचलन रहिआएको छ। यस्ता पर्वले नेपालीहरुलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्‍भाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जन गर्ने अवसर समेत प्रदान गर्दै आएका छन्।

नेपाली मौलिक संस्कृति सम्वर्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवन शैली अपनाउनका लागी यस्ता चाडपर्वहरुको गरिमालाई सम्मानजनक बनाई राख्‍नु आजको आवश्यकता हो।

अन्तमा, हरितालिका तीज पर्वले हामी सबैमा खुसी र मनोरञ्जन साटासाट गर्दै सामाजिक, साँस्कृतिक तथा पारिवारिक एकता र सम्वन्ध थप सुमधुर बनाउन सहयोय पुगोस भन्ने कामना गर्दछु।

धन्यवाद ! 

२०७६ भाद्र १६ गते, सोमबार ।