सम्माननीय राष्ट्रपतिज्यूबाट ४० औं राष्ट्रिय शिक्षा दिवस, २०७६ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा विद्याभूषण प्रदान

आज मिति २०७६ साल भाद्र २२ गते आइतबारका दिन ४० औं राष्ट्रिय शिक्षा दिवस, २०७६ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक विशेष समारोहमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूबाट  स्वदेशी तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल गरेका नेपाली छात्रछात्राहरुलाई ‘क’ श्रेणीको नेपाल विद्याभुषण पदक २३१ जनालाई, ‘ख’ श्रेणीको नेपाल विद्याभुषण पदक १०१ जनालाई, ‘ग’ श्रेणीको नेपाल विद्याभुषण पदक ११ जनालाई, नेपाल भित्रका विश्‍व विद्यालय/प्रतिष्ठान/परिषद्‍बाट स्नातक तहतर्फ छात्रामध्ये उत्कृष्ट हुनेलाई नेपाल छात्रा विद्यापदक २३ जनालाई तथा नेपाल भित्रका विश्‍व विद्यालय/प्रतिष्ठान/परिषद्‍बाट प्रमाणपत्र तह वा सो सरह तर्फ छात्रामध्ये उत्कृष्ट हुनेलाई नेपाल छात्रा विद्यापदक ७ जना समेत जम्मा ३७३ महानुभावहरुलाई प्रदान गर्नु भयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले सम्बोधन गर्नुहुँदै शिक्षा राष्ट्रिय विकासको महत्वपूर्ण बगैँचा भएकोले यसको आवश्यक स्याहार संभार गर्दा सबैको लागि सबै प्रकारको फल फलाउन सकिने धारणा राख्‍नु भयो । साथै उपलब्ध साधनस्रोतलाई अधिकतम् दिगो र सुन्दरतम प्रयोग गर्नका लागि शिक्षा प्रभावकारी साधन भएको उल्लेख गर्नुहुँदै उच्च शिक्षाको आधारको रुपमा रहेको विद्यालय शिक्षालाई बदलिँदो परिवेश र हाम्रो आवश्यकता अनुसार पाठ्यक्रम निर्धारणगरि गुणस्तरीय पाठ्यक्रमसहितको अध्ययन कार्य व्यवस्थित पार्न सुझाव दिनुका साथै अध्ययनको क्रममा प्राप्त ज्ञान र सीपलाई वर्तमान सरकारले अघि सारेको “समृद्ध नेपाल, सुखी नेपाली” को साझा राष्ट्रिय संकल्प साकार पार्न सहयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

  (केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता