सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना सन्देश

११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मी लगायत महिला हक, अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा कार्य गर्नुहुने सम्पूर्णमा सुख, शान्ति एवम् समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु ।

महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष आठ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइन्छ । यस वर्ष  अन्तर्राष्ट्रिय महिला दिवसको लागि संयुक्त राष्ट्र संघबाट “Invest in women :Accelerate progress” भन्ने अन्तर्राष्ट्रिय नारा तय भएको छ भने “महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी” भन्ने  राष्ट्रिय नाराका साथ यस दिवस मनाइरहेका छौं ।

विश्वभरि विभिन्न क्षेत्रमा कार्य गर्ने महिलाहरूको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिहरूलाई स्मरण गर्दै महिलाहरूलाई सम्मान दिनुका साथै महिलाहरूको प्रविधिमा पहुँचको विस्तार गर्ने,महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने, महिलालाई शिक्षित र आत्मनिर्भर बनाउनेलगायतका उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आइएको
छ । लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी,  निर्णय प्रकृया, राजनीति जस्ता राज्यका हरेक क्षेत्रमा महिलाहरूको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने महसुस गरेको छु ।

परम्पराका नाममा समाजमा कायम रहेका खराब अभ्यासहरू जस्तै बोक्सी, छाउपडी, बालविवाह, दाइजो तथा तिलकजस्ता प्रथाले महिला, किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटनाहरू निर्मूल गर्न अझै पनि थप कार्यक्रमहरू तय गरी कार्यान्वयन गर्न जरूरी देखिन्छ । साथै, महिला विरूद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ-आफ्नो क्षेत्रबाट योगदान गर्न सबैमा आव्हान गर्दछु ।

अन्त्यमा, यस दिवसले हामी सबैलाई महिलाहरूको हक, अधिकार, समानता, सशक्तीकरण तथा सम्मानप्रति पूर्ण संवेदनशील भई कार्य गर्न प्रेरित गर्दै, राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता सहित सारभूत समानता कायम गरी लैंगिक समानतायुक्त राष्ट्र निर्माणमा क्रियाशील सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ संस्था एवम् अधिकारकर्मीहरूलाई थप उर्जा र उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।

जय नेपाल !

२०८० फागुन २५  गते शुक्रबार ।