सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले महाशिवरात्री पर्व, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

महाशिवरात्रि पर्व, २०८० को शुभकामना सन्देश

महाशिवरात्रि पर्व, २०८० को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ । शिवोत्पत्ति भएको विश्‍वास गरिने  मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दुहरूको लागि पनि गौरवको विषय हो । हाम्रो मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्‍वास निरन्तर प्रतिविम्बित भएको पाइन्छ । तसर्थ, आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको छ ।

वैदिक परम्परामा शिवलाई मूलत: संहारका शक्ति मानिएको भएतापनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सिर्जनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन् । सौम्य शक्तिले मानव चेतनामा असल पक्षको बोध गराई त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यम् शिवं सुन्दरम्’ प्राचीन लोकोक्तिका रूपमा  रहेको छ । रौद्र शक्तिले खराब रोजाईबाट उत्पन्न परिणामलाई दण्डित गर्दछ । यसरी मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई हाम्रा अनेक सांस्कृतिक चाडपर्वजस्तै महाशिवरात्रिले पनि बेजोड रूपमा प्रकट गरिरहेको पाइन्छ  । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा एवम् शिव महिमा कीर्तन शिवरात्रि पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छ भने शिवरात्रिको पालनाले योग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने  धार्मिक विश्वास रहि आएको छ ।

महाशिवरात्रिको यस पावन अवसरमा हामीले पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका  सांस्कृतिक एवं धार्मिक सम्पदाहरूको यथोचित संरक्षण एवं संवर्द्धन गर्न प्रण गर्नुपर्दछ । पुर्खाको नासोका रूपमा हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो । वागमती सभ्यता विकास भएको तथा काठमाडौँ उपत्यकाको जलाधारको रूपमा रहेको वागमती नदीलाई स्वच्छ र सफा राखिरहनका लागि आजका दिनले सबैलाई प्रेरणा मिल्ने विश्‍वास लिएको छु ।

अन्त्यमा,महाशिवरात्रि पर्व, २०८० ले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी पुन: शुभकामना व्यक्त गर्दछु।

जय नेपाल !

२०८० फागुन २५ गते, शुक्रबार  ।