सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सहिद दिवस, २०८० को अवसरमा दिनुभएको सन्देश

सहिद दिवस, २०८० को सन्देश

सहिद दिवस, २०८० को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायत सम्पूर्ण ज्ञात-अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।

सहिद दिवस देशका लागि प्राण आहुति दिनुहुने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन हो। नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न काल खण्डहरूमा निरङ्‌कुश र तानाशाही शासन व्यवस्था विरूद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झना गर्दै प्रत्येक वर्ष माघ १६ गते यो दिवस मनाईदैँ आइएको छ।

आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत हो। यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम नागरिक र सम्बद्ध सबैलाई नेपाल र नेपाली जनताको स्वाधिनताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु।

महान् सहिदहरूको बलिदानद्वारा हामीले आफ्नो संविधान आफैं बनाएका छौं। जनता आफैंले बनाएको संविधानमार्फत हामीले सर्वोत्कृष्ट शासन प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र पाएका छौं। संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको छ। संविधान र गणतन्त्रले परिलक्ष्य गरेको यही मर्मलाई आत्मसात गर्दै  दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने मैले ठानेको छु।

अन्तमा, वीर सहिदहरूले गरेका बलिदानको उच्च मूल्याङ्कन गर्दै सहिदको आकांक्षालाई साकार बनाउन हामी सबैले आ-आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नमा यस दिवसले थप प्रेरित गरोस् भन्ने पनि कामना गर्दछु।

जय नेपाल !

२०८० माघ १६ गते मङ्गलबार।