सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले माघे संक्रान्ति एवम् माघी पर्व, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

माघे संक्रान्ति एवम् माघी पर्व, २०८० को शुभकामना सन्देश

माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।

यस पर्वलाई नेपालका विभिन्न जातजातिले आ-आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आइरहेका छन् । थारू समुदायले माघी पर्वलाई नयाँ वर्षको रूपमा मनाउँदछन् भने मगर समुदायमा यस दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ । तराई वासीले ‘नहान’ अर्थात नुहाउने पर्वको रूपमा मनाउँदछन् । पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नानपश्चात् पूजा अर्चना गरी घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडी जस्ता खाद्य परिकार सेवन गर्ने परम्परा रहेको छ ।

सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित् हुनाले माघी अर्थात् माघे संक्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ । हाम्रा धेरै पर्वहरू यसै गरी प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएका छन् । नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर संगम भएको हुनाले हाम्रा व्यवहारहरू पनि प्रकृतिमैत्री र वातावरण संरक्षणउन्मुख हुनुपर्दछ भन्ने अन्तर्निहित सन्देशलाई हामीले आत्मसात् गर्नुपर्दछ ।

यस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्वहरू मनाउँदै साँस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिएमा हाम्रो मुलुकलाई विश्व सामु परिचित गराउन महत्त्वूर्ण भूमिका रहनेछ भन्ने मलाई लाग्दछ ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वहरूले सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास लिएको छु ।

अन्तमा‚ माघे संक्रान्ति एवम् माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य‚ सुसंस्कृत र समतामूलक  समाजको निर्माण गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

२०८० माघ १ गते सोमबार ।