सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ३२ औं अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको अवसरमा दिनुभएको सन्देश

३२ औं अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको शुभकामना सन्देश

संयुक्त राष्ट्र संघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ । अपाङ्गता भएका व्यक्तिको ३२ औं अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा अपाङ्गता भएका व्यक्तिको मानवअधिकारको प्रवर्धन, मर्यादा र सामाजिक न्यायको सुनिश्चितताका लागि शुभकामना व्यक्त गर्दछु ।

नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनलगायतको प्रभावकारी कार्यान्वयनले मात्र अपाङ्गता भएका व्यक्तिको जीवन स्तर र जीवन यापनमा सुधार हुन सक्छ । अपाङ्गता अधिकारको सम्बन्धमा हाल भएका संवैधानिक र कानूनी व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयनमा अझै प्राथमिकता र ध्यान पुगिरहेको छैन ।

यस वर्षको अन्तर्राष्ट्रिय नारा “United in action to rescue and achieve the SDGs for, with and by persons with disabilities” र राष्ट्रिय नारा “दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता” रहेको छ ।

यस वर्षका अन्तर्राष्ट्रिय नाराले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि र दिगो विकासका लागि २०३० एजेन्डाद्वारा अपाङ्गता भएका व्यक्तिहरूका लागि सबै मानवअधिकारको पूर्ति गर्ने राष्ट्रसंघको प्रतिबद्धतालाई बलियो बनाएको छ भने नेपालले यो ऐक्यवद्धता र प्रतिवद्धतालाई आत्मसात गर्दै संविधान र दिगो विकासका लक्ष्य कार्यान्वयनमा अपाङ्गताको विषयलाई  विशेष व्यवस्थासहित अघि बढाउनु पर्नेछ ।

जय नेपाल !

२०८० मंसिर १७ गते आइतबार ।