सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ का अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ को शुभकामना सन्देश

 

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त
गर्दछु । आजको दिनले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

२००७ साल फागुन ७ गतेका दिन निरङ्‌कुश जहानियाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष प्रजातन्त्र दिवस मनाउने गरेका छौं । प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा हामीले अभूतपूर्व  उपलब्धीहरु हासिल गरेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको संघर्षको प्रतिफल हो ।

नेपालको संविधान, 2072 का सबै प्रावधानहरु लागू हुँदै गएका छन् । “समृद्ध नेपाल सुखी नेपाली” नेपाली जनताको चाहना हो । सम्पूर्ण नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न फागुन ७ ले सबैमा थप उर्जा दिनेछ ।

अन्तमा, आज ६९ औँ प्रजातन्त्र दिवस मनाइरहँदा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै यस दिवसले प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

२०७५ साल फागुन ७ गते, मंगलबार ।