सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “सोनमल्होसार २०७५” का अवसरमा व्यक्त शुभकामना सन्देश

सोनमल्होसार २०७५ को शुभकामना सन्देश

चन्द्रपात्रोअनुसार नयाँ वर्षको रूपमा तामाङगायतका समुदायहरूले मनाउने महान पर्व सोनमल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यो पर्वमा कूल पूजा, प्रकृति पूजा, छोरीचेलीलार्इ मिठो खुवाउने, टिकादक्षिणा दिने, घरबस्ती सफा गरी बुद्धका चित्र अङ्कित ध्वजापतकाहरू टाँगेर  बुद्धको पूजाअर्चना गर्ने, टोलवासीहरू ठाउँ-ठाउँमा जम्मा भर्इ तामाङसेलोमा नाचगान गर्ने एवम् हर्षोल्लासका साथ आपसमा मनोरञ्जन र खुशी साटासाट गर्ने प्रचलन रहिआएको छ।

तामाङलगायत शेर्पा, थकाली, जिरेल, नेस्याङवा, भोटे, दुरा र लेप्चालगायतले आ-आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउने गरेको पाइन्छ । विविधताले भरिपूर्ण समृद्ध नेपाली संस्कृतिभित्र यस्ता चाडपर्व र परम्पराको बेग्लै महत्व रहेको छ । यस्ता चाडपर्वहरू राष्ट्रिय एकता सुदृढ पार्न र जातजातिबीच सामाजिक सद्‍भाव अभिवृद्धि गर्न सफल भएका छन् ।मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरूको संरक्षण तथा सम्वर्द्धन गर्न सकेमा विश्वसामु नेपाल र नेपालीको पहिचान कायम राख्‍न सकिने भएकोले यसतर्फ हामी सबैको ध्यान पुग्नु पर्दछ । नेपालसहित सिंगापुर, मलेशिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशमा समेत फरक-फरक नाम र शैलीमा मनाइने सोनमल्होसार पर्वले विश्वशान्ति र भातृत्व प्रवर्द्धनमा समेत उत्तिकै टेवा पुग्ने मैले विश्वास लिएको छु ।

अन्तमा, सोनमल्होसार पर्वले सबै नेपालीबीच एकता सुदृढ गर्दै नयाँ उत्साह एवम् उमङ्ग बढाओस् । देशमा शान्ति, सद्‍भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र साँस्कृतिक रूपले समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा मिलोस् भन्ने कामना  गर्दछु ।

धन्यवाद ।

२०७५ साल माघ २२ गते, मङ्गलबार ।