सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०७८’ मा गर्नुभएको सम्बोधन

नातिकाजी स्मृति समाजका अध्यक्ष तथा पदाधिकारीहरू,

आज सम्मानित तथा पुरस्कृत हुनुभएका सर्जकहरू,

कला र सङ्गीतका साधकहरू,

सञ्चारकर्मीहरू,

उपस्थित भद्रमहिला तथा सज्जनवृन्द,

 

नातिकाजी स्मृति समाजले आयोजना गरेको नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह’मा सहभागी भएर कला, साहित्य र सङ्गीतका अथक साधक एवं विज्ञहरूसँग साक्षात्कार गर्न पाउँदा मलाई खुसी लागेको छ । म यहाँहरू सबैलाई राष्ट्रपति भवनमा हार्दिक स्वागत गर्दछु । यस अवसरमा म नेपाली सङ्गीत आकाशका उज्ज्वल नक्षत्रका रूपमा रहनुभएका स्वर्गीय नातिकाजी श्रेष्ठप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।

नातिकाजीको स्मृति र सम्मानमा समर्पित आजको कार्यक्रम नेपाली मौलिक गीत-सङ्गीतप्रति पनि समर्पित छ भन्ने मलाई लागेको छ । गीत-सङ्गीतले भौगोलिक सिमानालाई छिचोलेर मानिसका मनहरूलाई एक आपसमा जोड्ने सामर्थ्य राख्दछ । विश्वको जुनसुकै कुनामा भएपनि नेपाली भावनालाई एकै सूत्रमा जोड्न हाम्रो भाषा, संस्कृति र गीत-सङ्गीतको अतुलनीय भूमिका रहेको छ । यसका लागि तपाईंहरू जस्ता साधक-सर्जकहरू एवं नातिकाजी जस्ता अमर सङ्गीतकारहरूप्रति हामी सदैव कृतज्ञ रहनेछौं ।

नेपालको भौगोलिक विविधताको प्रतिनिधित्व स्वरुप विभिन्न जातजातिका आफ्नै मौलिक भाषा, संस्कृति, गीत र सङ्गीत छन् । नेपाली समाजको विविधतालाई यिनै लोकसंस्कृति, गीत र सङ्गीतले एकढिक्का बनाउन सघाएको छ । विविध जाति र उनीहरूको भाषा, संस्कृति, गीत, सङ्गीतको समुच्च रूप नै नेपाली सङ्गीतको राष्ट्रिय स्वरुप हो ।

नेपाली सङ्गीतमा विभिन्न जातजातिका बाजा, भाका र गीत, सङ्गीतका आ–आफ्नै मौलिक धून र विशिष्ट शैली छन् । त्यसको जगमा नै नेपाली राष्ट्रिय सङ्गीतको विकास हुँदैआएको छ । नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको कर्तव्य हो ।

नेपाली मौलिक गीत–सङ्गीतको जग पुस्ताका रूपमा सङ्गीत महर्षि नातिकाजी श्रेष्ठ अग्रणी हुनुहुन्छ । नेपाली लोक भाकामा आधारित हुँदै आधुनिक गीत–सङ्गीतको सिर्जनामा नातिकाजीले पुर्‍याउनु भएको योगदान अतुलनीय छ । नेपाली राष्ट्रिय भावका गीत–सङ्गीत सिर्जनामा समेत उहाँको भूमिका उत्तिकै महत्वपूर्ण रहेको छ । नेपाली गीत–सङ्गीतमा उहाँले पुर्‍याउनुभएको योगदानको उच्च मूल्याङ्कन नेपाली जनताको तहबाट भइआएकै छ ।

नेपाली गीत–सङ्गीतको क्षेत्रमा जीवनभर समर्पित रहने श्रष्टालाई राज्यको तहबाट उचित महत्व दिदै जानु नेपाली राष्ट्रिय हितको विषय समेत हो । तसर्थ, नातिकाजी स्मृति समाजले नेपाली गीत–सङ्गीत क्षेत्रमा समर्पित स्रष्टालाई सम्मानित र पुरस्कृत गर्ने कार्य प्रशंसनीय छ । यस प्रकारका सम्मानले नेपालका विविध भाषाभाषीको गीत, सङ्गीतको उत्थान गर्न र नवप्रतिभालाई यस क्षेत्रमा समर्पित हुन प्रेरणा मिल्ने छ । यसबाट  पुराना स्रष्टा तथा नयाँ प्रतिभालाई गीत–सङ्गीतका माध्यमबाट जोड्न समेत सहयोग पुग्ने मैले विश्वास लिएको छु ।

नेपाली गीत–सङ्गीत क्षेत्रको योगदानलाई समाजमा अजर अमर राख्न नातिकाजी स्मृति समाजले निरन्तर गर्दै आएको कार्यको उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु र निरन्तर सफलताको शुभकामना समेत व्यक्त गर्न चाहन्छु ।

अन्त्यमा, आज सम्मानित एवं पुरस्कृत हुनुहुने विशिष्ट स्रष्टा, सर्जक तथा प्रतिभामा सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै आगामी दिनमा आफ्नो कर्म क्षेत्रमा अझ लगनशील भई सिर्जनात्मक कार्यमा सक्रिय रहन थप प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७९ माघ ६ गते, शुक्रबार

राष्ट्रपति भवन, महाराजगञ्ज, काठमाडौँ ।