सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उधौली पर्व, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

उधौली पर्व, २०७९ को शुभकामना सन्देश

किराँत समुदायको महान् पर्व उधौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रकृतिसँग तादात्म्यता कायम गरी जीवन निर्वाह गर्ने अभ्यस्त किराँत समुदायले जाडो मौसम सुरु भएछि हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरू भई १५ दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउने परम्परा रहेको छ । यस पर्वको अवसरमा किराँत समुदायका मूलत: राई‚ लिम्बु‚ याख्खा र सुनुवारहरूले नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गर्नुका साथै राम्रो फसलको लागि भूमिप्रति आभार प्रकट गर्दै भित्र्याइएका अन्नबालीमा घुन–पुतली नलागोस् र सह बनोस् भन्ने कामना सहित भूमिको पूजा गर्ने गरिन्छ । यसका साथै‚ उधौली पर्वको अवसरमा  परम्परागत भेषभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामुहिक रूपमा साकेला नृत्य गर्ने प्रचलन समेत रहेको छ ।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वले प्रकृतिको सम्मान गर्दै सबै जातजाति बीच आपसी सद्‌भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको देखिन्छ ।

विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौली जस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‌भाव अभिवृद्धि गर्नुका साथै नेपालीको साझा पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको छ । यस पर्वले मानव जीवन र प्रकृति बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न समेत सहयोग गरेको छ ।

अन्तमा, यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्‍वास सहित पुनः उधौली पर्वको शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७९ मङ्सिर २२ गते बिहीबार ।