सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल हस्तकला महासंघद्वारा आयोजित १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिताको समुद्‍घाटन समारोहमा गर्नुभएको सम्बोधन

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री,

बागमती प्रदेशका माननीय मुख्यमन्त्री‚

स्थानीय तहका जनप्रतिनिधिहरू,

नेपाल उद्योग परिसंघ, नेपाल उद्योग बाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरू एवम् पदाधिकारीहरू

हस्तकला उद्यमी, व्यवसायी तथा हस्तकला शिल्पीहरू,

राष्ट्रसेवकहरू,

सञ्चारकर्मीहरू,

भद्रमहिला तथा सज्जनवृन्द !

नेपाल हस्तकला महासंघद्वारा आयोजित ‘१९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिता’को समुद्‍घाटन समारोहमा सहभागी भएर देशभरिका हस्तकला उद्यमी, व्यवसायी एवं हस्तकला शिल्पीहरूसँग साक्षात्कार गर्ने अवसर पाउँदा मलाई खुसी लागेको छ । नेपाल हस्तकला महासंघले सुखद् स्वर्ण वर्ष पूरा गरेको अवसरमा म महासंघ परिवारलाई हार्दिक बधाई एवं शुभकामना दिन चाहन्छु ।

नेपाली हस्तकलाको आन्तरिक बजार विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस हस्तकला व्यापार मेला तथा प्रतियोगिताको आयोजना गरेकोमा महासंघलाई म धन्यवाद दिन चाहन्छु । साथै,  यस हस्तकला मेलाको पूर्ण सफलताको कामना गर्दछु । यस प्रकारका व्यापार मेलाले उत्पादन र उपभोक्तालाई आपसमा जोड्नुका साथै नेपाली मौलिक हस्तकलाको प्रवर्द्धन गर्नमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।

हस्तकलाका माध्यमबाट हाम्रो देशको प्राचीन सभ्यता‚ कला र संस्कृतिको संरक्षण एवं सम्बर्द्धन गर्नुका साथै  नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न  सकिन्छ । यस उद्योगको विकास र विस्तारबाट एकातिर मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिन्छ भने अर्कोतिर हाम्रो आर्थिक‚ सामाजिक लगायत समग्र राष्ट्रिय विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याउन सकिन्छ । यसका साथै‚ हस्तकला क्षेत्रले रोजगारी सिर्जनामा समेत महत्वपूर्ण भूमिका खेल्दै आइरहेको हुनाले यस उद्योगलाई नेपालका लागि तुलनात्मक लाभको क्षेत्र मान्न सकिन्छ ।

मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्नु अत्यावश्यक छ । नेपाली श्रम‚ सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवर्द्धन गर्न सके मात्र हाल मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिन्छ ।

निकासीमा आधारित हस्तकला उद्योगको विकासबाट हामीले यो लक्ष्य हासिल गर्न सक्दछौँ । देशको सामुदायिक एवं सांस्कृतिक विविधतालाई  समेट्ने नेपाली हस्तकलाका सामग्रीहरूलाई संसारमै पृथक नमूनाका रूपमा स्वीकार गरिन्छ । तथापि नेपाली हस्तकला उद्योगलाई व्यापक उत्पादनको तहसम्म पुर्‍याउन, हाम्रा उत्पादनहरूको माग अनुरुप आपूर्ति गर्न तथा थप बजार विस्तार गर्न यस क्षेत्रमा आबद्ध सबै पक्षको सामूहिक प्रयासको खाँचो रहेको छ ।

नेपाली हस्तकलाका धेरैजसो सामग्रीहरू हाम्रा विविध जातजातिको पुर्ख्यौली पेशा र सीपमा आधारित मौलिक उत्पादन भएकाले सहजै नक्कल गर्न नसकिने खालका छन् । यस प्रकारका उत्पादनको सुरक्षण अधिकार (पेटेन्ट राइट) लिने सम्बन्धमा समेत आवश्यक ध्यान पुग्नुपर्ने मैले ठानेको छु । नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न समेत सबैको ध्यान जान आवश्यक छ ।

हस्तकलाका सामग्रीसहित स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यले सरकारले सार्वजनिक खरिदमा १५ प्रतिशतसम्म महँगो भएपनि मान्य हुने नीतिगत व्यवस्था गरेको छ । त्यसैगरी सार्वजनिक निकायले प्रयोग गर्ने मालसामान वा वस्तु खरिद गर्दा उपलब्ध भएसम्म स्वदेशी वस्तु नै खरिद गर्नुपर्ने व्यवस्था पनि कायम छ । यस प्रकारका नीतिगत प्रावधानहरूको प्रभावकारी कार्यान्वयनबाट मात्र स्वदेशी हस्तकला लगायतका उद्योगको विकासमा टेवा पुग्न सक्दछ ।

वातावरणमैत्री विकास, दिगो आर्थिक प्रगति तथा समावेशी विकासका लागि नेपाली हस्तकला उद्योगको विकास र विस्तारसम्बन्धी नीतिहरू अझ अनुकूल र सहज बनाउन नेपाल सरकारको निरन्तर ध्यान जाने मैले अपेक्षा लिएको छु । नेपाली उत्पादनहरू प्रयोगमा ल्याउनका लागि हामी स्वयं जागरुक भई आफ्नै उत्पादनको उपभोग गर्ने प्रचलन बसाल्न आवश्यक छ ।

नेपाली उत्पादनको प्रवर्द्धन कार्यमा विदेशमा विभिन्न पेशा र व्यवसाय गरेर बस्ने नेपालीहरूले समेत महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने भएकाले यसका लागि सम्बन्धित पक्षले आवश्यक पहल गर्नु पर्दछ ।

मुलुकमा विद्यमान बेरोजगारीको समस्यालाई समाधान गर्न एवं युवा जनशक्तिको पलायनलाई रोक्न हस्तकला क्षेत्रमा आवश्यक पर्ने सीपमूलक तालिम एवं व्यावसायिक शिक्षालाई पनि समान रूपमा प्रवर्द्धन गर्दै लैजान आवश्यक छ । प्रत्येक स्थानीय तहका मौलिक उत्पादनको पहिचान गरी सोहीअनुरुप शिक्षा र तालिम प्रदान गर्न सके हाम्रो युवा जनशक्तिका लागि स्वदेशमै रोजगारी  सिर्जना गर्न सकिने पक्षतर्फ सम्बद्ध सबैको ध्यान आकृष्ट गर्न चाहन्छु ।

अन्तमा, १७औँ हस्तकला प्रतियोगितामा पुरस्कृत हुनुहुने सबैलाई हार्दिक बधाई दिँदै पुन: यस हस्तकला मेलाको पूर्ण सफलताको  कामना गर्दछु ।

धन्यवाद ।

२०७९ साल मंसिर २३ गते शुक्रबार ।

होटल हायात रिजेन्सी, बौद्ध, काठमाडौँ ।