सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले १३८औं फाल्गुनन्द जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

१३८औं फाल्गुनन्द जयन्तीको शुभकामना सन्देश

किराँत धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द लिङदेनको १३८औं फाल्गुनन्द जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि खेलेको अहम् भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, इलाम र झापा लगायत नेपालका पूर्वी जिल्लाहरूमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ । उहाँले देखाउनु भएको बाटोमा हिड्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच सहिष्णुता र सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्‍वास मैले लिएको छु ।

महागुरु  फाल्गुनन्द धार्मिक गुरु मात्र नभई एक सामाजिक अभियन्ताको रूपमा उहाँले समाजमा विद्यमान अनेक विकृति र विसङ्गतिलाई हटाउन समेत महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । सामाजिक रूढीवादको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न उहाँले दिनुभएको मार्गनिर्देश अनुशरणीय रहेकोछ । उहाँले अपनाउनु भएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको हुँदा उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ भन्ने मैले विश्वास लिएको छु ।

अन्तमा, फाल्गुनन्द जयन्तीले हामी सबैमा सहिष्णुता, सद्‍भाव, अहिंसा एवम्  समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७९ साल कात्तिक २५ गते शुक्रबार ।