सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ को अवसरमा आयोजित स्वागत समारोहमा गर्नुभएको सम्बोधन

सम्माननीय उपराष्ट्रपति,

सम्माननीय प्रधानमन्त्री,

सम्माननीय प्रतिनिधिसभाका सभामुख,

सम्माननीय राष्ट्रिय सभाका अध्यक्ष,

पूर्व  उपराष्ट्रपति तथा पूर्व प्रधानमन्त्रीहरू‚

महामहिम राजदूत तथा नियोगप्रमुख दम्पतिहरू,

विशिष्ट महानुभावहरू,

भद्र महिला तथा सज्जनवृन्द !

नेपाली जनताको दशकौँ लामो संघर्ष र बलिदानको फलस्वरूप संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई सात वर्ष पूरा भएको सुखद् अवसरमा आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ । यस अवसरमा तपाईँहरूलाई राष्ट्रपति भवनमा स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ ।

आज नेपालमा मात्र नभई नेपालीहरू रहेका विश्वका विभिन्न मुलुकमा समेत संविधान दिवसलाई भव्यताका साथ मनाइँदैछ । यस ऐतिहासिक अवसरमा म सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

हाम्रो संविधानले नेपालको स्वतन्त्रता‚ सार्वभौमसत्ता‚ भौगोलिक अखण्डता‚ राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्न नेपाली जनतालाई अधिकारसम्पन्न बनाएको छ । संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ । लैङ्गिक समानता कायम गर्न राज्यका सबै निकायहरूमा महिला सहभागिता‚ हाम्रो सामाजिक एवं भौगोलिक विविधताको समावेशीकरण तथा मौलिक अधिकारहरूको प्रत्याभूतिबाट नेपालको संविधान आफैँमा ऐतिहासिक उपलब्धिका रूपमा रहेको छ । संविधानको निर्माण र विकासका लागि राजनीतिक दलहरूले खेलेको नेतृत्वदायी भूमिकाको सराहना गर्दै यसको रक्षा र पालनाका लागि समेत दलहरूकै इमान्दार प्रयासको आवश्यकता रहेकोतर्फ म ध्यान आकर्षण गराउन चाहन्छु ।

संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न हाम्रा प्रयासहरू निरन्तर जारी रहेका छन् । यसै क्रममा केही महिनाअघि मात्र स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ भने निकट भविष्यमा नै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुन लागेको छ । तीनै तहको निर्वाचनपश्चात् जनप्रतिनिधिहरूले मुलुकको वृहत्तर हितलाई प्राथमिकतामा राखी सामाजिक‚ आर्थिक‚ सांस्कृतिक एवं शैक्षिक विकासका लागि अझ सशक्त भूमिका खेल्ने मैले विश्‍वास लिएको छु ।

विशिष्ट व्यक्तित्वहरू तथा कूटनीतिक समुदाय,

आज नेपालले आफ्नो विकास प्रक्रियामा भोगिरहेका चुनौतिहरू बहुआयामिक छन् । जलवायु परिवर्तनबाट उत्पन्न प्रभावको सामना गर्न हाम्रो जस्तो पर्वतीय मुलुकमा अनुकूलनका कार्यक्रमहरूको ठूलो आवश्यकता छ । युवा शक्तिका लागि स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्नु परेको छ । शिक्षा‚ स्वास्थ्य‚ खानेपानी‚ सरसफाई लगायतका क्षेत्रमा व्यापक र दूरगामी महत्वका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक छ । यी सबै कार्यका लागि हामीलाई स्रोत‚ साधन र सीपको आवश्यकता पर्दछ । आज यस कार्यक्रममा नेपालको विकास साझेदार मित्रहरू उपस्थित हुनुहुन्छ । नेपालको विकासमा पुर्‍याउँदै आउनु भएको सहयोगका साथै नेपालको संविधानप्रति तपाईँहरूले जनाउनु भएको समर्थन तथा ऐक्यवद्धताका लागि समेत यस ऐतिहासिक अवसरमा आभार प्रकट गर्दछु । साथै‚ भूकम्पपश्चात्‌को पुनर्निर्माण तथा कोभिड–१९ महामारीको समयमा नेपाललाई विभिन्न मित्रराष्ट्रहरूबाट प्राप्त सहयोगका लागि समेत कृतज्ञता जनाउन चाहन्छु ।

संयुक्त राष्ट्र संघको सदस्य भएको नाताले यसको बडापत्रप्रति नेपाल सधैं प्रतिबद्ध रहेको छ । असंलग्नता‚ पञ्चशीलका सिद्धान्त तथा पारस्परिक लाभ र मित्रतामा आधारित परराष्ट्र नीतिलाई नेपालले सदैव अवलम्बन गर्दै आएको छ । नेपालको लोकतन्त्रलाई थप सुदृढ गर्न तथा नेपाली जनताको विकास र समृद्धिको अपेक्षा पूरा गर्ने हाम्रो प्रयासमा अन्तर्राष्ट्रिय समुदायको निरन्तर साथ र सहयोग रहने विश्‍वास व्यक्त गर्दछु ।

संवैधानिक सर्वोच्चता, विधिको शासन, लैङ्गिक हिंसा तथा जातीय भेदभावको अन्त्य, पर्यावरणीय सुरक्षा र मानवअधिकारको सम्मान नेपालका प्राथमिकताका विषय हुन् । साथै, दिगो विकासका लक्ष्यहरू प्राप्त गरी “समृद्ध नेपाल सुखी नेपाली” को राष्ट्रिय आकांक्षालाई साकार रूप दिन हामी कृत सङ्कल्पित छौं । केही वर्षभित्रै नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रका रूपमा स्तरोन्नति हुन गइरहेको सन्दर्भलाई यस अवसरमा म उल्लेख गर्न चाहन्छु ।

अन्तमा, हाम्रो संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजित यस समारोहमा सहभागी हुनुभएकोमा तपाइँहरू सबैमा हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछु । साथै‚ उत्कृष्ट सांस्कृतिक कार्यक्रम  प्रस्तुत गर्ने सांस्कृतिक संस्थान तथा कालाकारहरूलाई धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ।

२०७९ साल असोज ३ गते सोमबार (सेप्टेम्बर १९, २०२२)

राष्ट्रपति भवन‚ महाराजगञ्ज‚ काठमाडौँ ।