सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार‚ २०७७/७८ वितरण कार्यक्रममा गर्नुभएको सम्बोधन

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री श्री माधवकुमार नेपाल‚

माननीय संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्री‚

विभिन्न प्रज्ञा प्रतिष्ठानका कुलपति‚ उपकुलपति तथा पदाधिकारीहरू‚

आज पुरस्कृत हुनुभएका व्यक्तित्वहरू‚

राष्ट्रसेवकहरू‚

सञ्चारकर्मीहरू‚

भद्र महिला तथा सज्जनवृन्द ।

नेपालको कम्युनिष्ट आन्दोलनका संस्थापक एवं लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व पुष्पलाल श्रेष्ठको स्मृतिमा संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’को स्थापना गरी विभिन्न विधामा कृयाशील श्रष्टाहरूलाई पुरस्कृत एवं सम्मानित गर्नु सराहनीय कार्य हो । आज विक्रम संवत् २०७७ र ७८ सालको पुष्पलाल राष्ट्रिय पुरस्कार समर्पण गरिने यस कार्यक्रममा सहभागी भएर तपाईँहरूसँग भेट गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । म तपाईँहरूलाई राष्ट्रपतिको कार्यालयमा हार्दिक स्वागत गर्दछु । आज पुरस्कृत हुनुभएका विशिष्ट व्यक्तित्वहरूलाई हार्दिक बधाई दिन चाहन्छु ।

नेपालको लोकतान्त्रिक एवं वामपन्थी आन्दोलनको इतिहासमा पुष्पलाल श्रेष्ठको भूमिका सदैव अविस्मरणीय रहेको छ‚ रहने छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई संगठित र संस्थागत गर्दै अगाडि बढाउन उहाँले प्रदान गर्नुभएको नेतृत्वबाट हरेक पुस्तालाई प्रेरणा प्राप्त भएको छ । उहाँले जग हाल्नु भएको आन्दोलनको मुख्य उद्देश्य नेपाली किसान र मजदुरहरूको सशक्त भूमिकाबाट सामाजिक न्यायसहितको सुदृढ आर्थिक प्रणाली निर्माण गर्नु रहेको थियो ।

निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्यका लागि पुष्पलालले जनआन्दोलनसम्बन्धी विभिन्न नीतिहरू अघि सार्नुभएको सन्दर्भका बारेमा हामी सबै जानकार छौँ ।

कुनै पनि मुलुकको राजनीतिक–आर्थिक प्रणाली निश्चित सैद्धान्तिक अवधारणामा आधारित रहेको हुन्छ । नेपालको संविधानले पनि सार्वजनिक‚ निजी र सहकारी क्षेत्रको सहभागिता मार्फत स्वदेशमा उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा आर्थिक वृद्धि हासिल गर्दै स्वाधीन राष्ट्रिय अर्थतन्त्र सहितको समाजवाद उन्मुख शासन प्रणाली स्थापना गर्ने लक्ष्य लिएको छ । आज पुष्पलालका योगदानको चर्चा गरिरहँदा सामाजिक न्यायमा आधारित आर्थिक समृद्धितर्फका हाम्रा पाइलाहरू समाजवादको सैद्धान्तिक अवधारणासँग सङ्गति राख्छन् कि राख्दैनन् भनेर समीक्षा गरिनु पर्दछ भन्ने मलाई लाग्दछ ।

चुलिँदो व्यापार घाटा नियन्त्रण गर्न आयात प्रतिस्थापन गरी स्वावलम्बी अर्थतन्त्रको निर्माण नगरेसम्म हाम्रो संविधानले परिलक्षित गरेको समाजवाद उन्मुख अर्थतन्त्र स्थापित हुन सक्दैन । यसका लागि मुलुकमा उपलब्ध साधन र स्रोतको सदुपयोगद्वारा कृषिको आधुनिकीकरण र व्यावसायीकरण गर्नु हाम्रो पहिलो प्राथमिकता हुनु पर्दछ । स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरूको विकास गर्दै रोजगारीको सिर्जना तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्नु हाम्रो अर्को प्राथमिकता हुनु पर्दछ । स्रोत‚ साधन र अवसरहरूमा विपन्न वर्ग एवं युवाहरूको पहुँच सुनिश्चित गरी समतामूलक राज्य व्यवस्था निर्माण गरेर मात्र समाजवादको सपना साकार बनाउन सकिन्छ ।

हाम्रो मौलिक सभ्यताको विकास एवं आर्थिक समृद्धिका लागि केवल भौतिक विकास मात्र पर्याप्त हुँदैन । आफ्नो इतिहास‚ कला‚ साहित्य‚ संस्कृतिका साथै विज्ञान र प्रविधिको विकासमा समेत हामीले उत्तिकै ध्यान पुर्‍याउनु पर्दछ । यसका लागि आवश्यक साधन र स्रोतको पहिचान गरी तिनको चुस्त व्यवस्थापन गर्ने क्षमता तथा प्राविधिक सीपयुक्त जनशक्ति विकासमा हाम्रा शैक्षिक निकायहरू अग्रसर हुनु पर्दछ । राज्यले त्यसका लागि आवश्यक नीति‚ कार्यक्रम र योजना तर्जुमा गरी सहजीकरण गर्नु पर्दछ । पुष्पलाल राष्ट्रिय पुरस्कारका लागि चयन गरिएका विधाहरूमा राजनीतिक/सैद्धान्तिक‚ इतिहास एवं साहित्य‚ संस्कृति र विज्ञान विषयलाई विशेष प्रथमिकता दिएको पाउँदा मुलुकको आवश्यकतासँग पुरस्कारको सन्दर्भ स्थापित भएको मैले पाएको छु ।

आज पुरस्कृत हुनु भएका व्यक्तित्वहरूमा श्री मोहनचन्द्र अधिकारी पुष्पलालकै सहयोद्धा एवं नेपाली वामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्व हुनुहुन्छ । उहाँलाई सम्मानित गरेर यस पुरस्कारको गरिमा थप अभिवृद्धि भएको छ । यसैगरी घनेन्द्र बस्नेत नेपालको वामपन्थी आन्दोलनमा सुपरिचत नाम हो । उहाँहरू सहित विभिन्न विधाअन्तरगत आज पुरस्कृत हुनुभएका ढाकाराम सापकोटा¸ कृष्णप्रसाद पोखरेल¸ जगन्नाथ आचार्य र पवित्रा घर्तीलाई पुन: हार्दिक बधाई दिँदै उहाँहरूको सुस्वास्थ्य‚ प्रगति एवं निरन्तर क्रियाशीलताको शुभकामना व्यक्त गर्दछु ।

अन्तमा‚ पुष्पलाल श्रेष्ठ जस्ता सिद्धान्तनिष्ठ अग्रज राजनीतिक नेताको जीवनबाट प्रेरणा लिएर समाज‚ राष्ट्र र जनताको सर्वोपरि हितलाई जीवनको अभीष्ट बनाउन सबैमा आह्वान गर्दछु ।

धन्यवाद ।

२०७९ असार २८ गते मङ्गलबार ।

राष्ट्रपति भवन‚ महाराजगञ्ज‚ काठमाडौँ ।