सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को ५०औँ वार्षिकोत्सव को अवसरमा आयोजित ‘स्वर्ण महोत्सव उद्‍घाटन विशेष कार्यक्रम’मा गर्नुभएको सम्बोधन

माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री‚

प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरू‚

प्रज्ञा प्रतिष्ठानका कुलपतिहरू‚

सांस्कृतिक संस्थानका अध्यक्ष एवं पदाधिकारीहरू‚

राष्ट्रसेवकहरू‚

सञ्चारकर्मीहरू‚

उपस्थित भद्र महिला तथा सज्जन वृन्द

नेपाली नाटक‚ गीत‚ सङ्गीत र नृत्यकलाको संस्थागत विकास‚ संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले स्थापित सांस्कृतिक संस्थानको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस ‘स्वर्ण महोत्सव उद्‍घाटन विशेष कार्यक्रम’मा सहभागी हुन पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । नेपाली लोकसंस्कृतिको संरक्षण र सम्वर्द्धनमा क्रियाशील सांस्कृतिक संस्थानले ५० वर्षको इतिहास बनाउनु आफैंमा गौरवको कुरा हो । यस सुखद् अवसरमा म सम्पूर्ण सांस्कृतिक संस्थान परिवारलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।

कला र संस्कृति कुनैपनि राष्ट्रको विशिष्ट पहिचान हो । समकालीन विश्‍वमा कुनै मुलुकको सभ्यता कति समृद्ध छ भन्ने कुरा आफ्नो मौलिक संस्कृतिको विकास र प्रवर्द्धनका लागि त्यहाँको समाज र राष्ट्रले कसरी  योगदान गरिरहेको छ भन्ने दृष्टिबाट समेत मापन गरिँदै आएको छ । यस सन्दर्भमा नाटक, गीत–सङ्गीत, नृत्य, वाद्यवादन लगायत प्रस्तुतिजन्यकलाका विभिन्न विधाले नेपाली मौलिक संस्कृति र सभ्यताको निर्माणमा गरिरहेको योगदान अमूल्य छ । यसैले, नेपाली रङ्गमञ्च‚ सङ्गीत र नृत्यकलालाई समुन्न्नत बनाउन योगदान गर्ने श्रष्टा र नेतृत्वकर्ताहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दै म भन्न चाहान्छु- नेपाल राष्ट्रले तपाईंहरूको सिर्जनामा गर्व गर्दछ, गर्व गरिरहनेछ ।

प्राचीन समयदेखि नै हाम्रा पूर्वजहरूले मौलिक कला र संस्कृतिको महत्व बुझेर तिनको जगेर्ना गर्न हामीलाई प्रेरित गर्दै आएका छन् । साहित्य, कला र संगीतले असल मानवीय भावनाको समेत प्रवर्द्धन गर्दछ । कला र सिर्जनाका यी हरेक विधा जीवनको बहुआयाम र बहुरङ्गलाई समेट्ने माध्यम भएकाले प्राचीन कालदेखि नै मानव सभ्यता त्यसतर्फ सधैँ आकर्षित र उत्प्रेरित रहेको छ ।

सूचना तथा सञ्चार प्रविधिको तीव्र विकास र यसमा सबैको सहज पहुँचका कारण आज विश्‍वको कुनैपनि स्थानमा घट्ने घटना‚ गतिविधि‚ संस्कृति एवं रहनसहन क्षणभरमै विश्वव्यापी बन्न सक्दछ । यसबाट एकातिर हाम्रा मौलिक कला र संस्कृतिलाई विश्‍वव्यापी रूपमा प्रचारप्रसार गर्ने अवसर प्राप्त भएको छ भने अर्कातिर विदेशी संस्कृतिको बढ्दो प्रभावका कारण नेपाली मौलिक कला र संस्कृतिहरू ओझेलमा पर्न सक्ने खतरा समेत उत्पन्न भएको छ । तसर्थ, अब हामीले विश्‍वव्यापी दर्शक-श्रोतालाई समेत लक्षित गरी व्यवस्थित प्रस्तुति एवं उत्कृष्ट प्रदर्शन क्षमताको विकास गर्नु आवश्यक छ । आफ्नो विशिष्टता कायम राख्दै हाम्रा रङ्गमञ्च‚ साङ्गीतिक साज-वाज र प्रस्तुतिको ढाँचामा समेत व्यापक सुधार गरिनु पर्दछ भन्ने मलाई लागेको छ ।

हाम्रा छिमेकी तथा मित्र राष्ट्रहरूका साथै विश्‍वका विभिन्न मुलुकका सांस्कृतिक संस्था वा निकायहरूसँग भाइचारा सम्बन्धको विकास गर्दै सांस्कृतिक आदान–प्रदानको माध्यमबाट समेत हामी नेपाली कला र संस्कृतिलाई वाह्य मुलुकहरूमा प्रवर्द्धन गर्न सक्दछौं । ५० वर्षको लामो इतिहास र अनुभव बोकेको सांस्कृतिक संस्थानले नेपाली मौलिक कला र संस्कृतिको संरक्षण‚ विकास र प्रवर्द्धनका लागि नेतृत्वदायी भूमिका खेल्नेछ भन्ने मैले आशा एवं विश्‍वास लिएको छु ।

कला र संस्कृति केवल मनोञ्जनको माध्यम होइन । कुनै पनि प्रस्तुति हेरेर वा सुनेर दर्शक–स्रोताको मनमा उत्पन्न हुने नवरसयुक्त भावले रचनाकार तथा प्रस्तोताको बौद्धिकता र सांस्कृतिक स्तरलाई पनि झल्काइरहेको हुन्छ । तसर्थ, मनोरञ्जन बजारको प्रतिस्पर्धामा बौद्धिक स्तर पनि कायम राख्न सकेको खण्डमा मात्र कलाको उचाई वा गहिराई बढ्न सक्दछ । समाजलाई असल मार्गमा निरन्तर डोर्‍याउन तथा समाजको मौलिकताबाट अभिप्रेरित हुन कला र समाजबीच उच्च तहको अन्तरक्रिया आवश्यक पर्दछ । यसतर्फ पनि सांस्कृतिक संस्थान एवं विभिन्न राष्ट्रिय प्रज्ञा प्रतिष्ठानहरूले पारस्परिक सहयोग र समन्वयका आधारमा नेतृत्वदायी भूमिका खेल्नेछ भन्न्ने मलाई लागेको छ ।

आफ्नो स्वर्ण महोत्सवको अवसरमा यस संस्थानले देशभरका सांस्कृतिक पक्षलाई समेटेर ‘सांस्कृतिक फोटो पुस्तक’ प्रकाशन गर्न लागेको कुरा थाहा पाउँदा मलाई खुसी लागेको छ । यस फोटो पुस्तकले नेपाली लोकसंस्कृतिको अभिलेखीकरण तथा संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने मैले विश्वास लिएको छु ।

यसैगरी‚ राज्यको महत्वपूर्ण कार्यक्रम एवं समारोहहरूमा सांस्कृतिक कार्यक्रम तयार गरी प्रस्तुत गर्दै आएको यस संस्थानले यो वर्ष ‘५०औं वर्ष विशेष कार्यक्रम’ आयोजना गरी वर्षभरि नै देशका कुना कन्दरासम्म पुगेर सांस्कृतिक जागरण अभियान चलाउने योजना तय गरेको कुराले मलाई उत्साहित बनाएको छ ।

गत वर्ष मित्रराष्ट्र बंगलादेशमा भएको हाम्रो औपचारिक भ्रमणमा सांस्कृतिक संस्थानबाट १९ जनाको कलाकार टोली सहभागी भई बंगलादेशमा रोमाञ्चकारी प्रस्तुति दिएको थियो । बंगलादेशका महामहिम राष्ट्रपतिलगायत सबैले उक्त प्रस्तुतिको प्रशंसा गर्नुभएको कुरा म तपाईंहरूसमक्ष आज स्मरण गर्न चाहान्छु ।

अन्तमा‚ सांस्कृतिक संस्थान स्थापनाको स्वर्ण महोत्सवको यस अवसरमा संस्थान परिवारसहित सबैमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद ।

२०७९ असार ५ गते आइतबार ।

राष्ट्रिय नाचघर‚ जमल‚ काठमाडौँ ।