सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय योग दिवस (जुन २१)‚ २०२२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय योग दिवस (जुन २१)‚ २०२२ को शुभकामना सन्देश

अन्तर्राष्ट्रिय योग दिवस (जुन २१)को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा विश्‍वभर मनाउन थालिएको हो । यस वर्ष पनि ‘मानवताका लागि योग’ भन्ने मूल अभिप्रायका साथ यो दिवस मनाइँदैछ । नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग अभिन्न रूपले जोडिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा सम्पूर्ण विश्‍वले ग्रहण गर्नु हामी सबैका लागि खुसीको विषय हो ।

योग व्यक्तिको शारीरिक‚ मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास हो । यसकारण योगलाई शारीरिक व्यायामको रूपमा मात्र नभएर चिन्तनसहितको क्रिया मानिएको छ । निश्‍चित अनुशासन र पद्धतिमा बाँधिएर अवलम्बन गरिने योगाभ्यासबाट शरीरमा स्फूर्ति बढ्ने‚ रोग प्रतिरोधात्मक क्षमताको विकास हुने तथा सकारात्मक सोचतर्फ व्यक्तिलाई उत्प्रेरित गर्न सकिने विश्‍वास हाम्रा ऐतिहासिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ ।

योगको विकासमा नेपाली सभ्यताको योगदानबारे हाम्रा विद्वान–विदुषी‚ अध्येता एवं योग गुरुहरूबाट प्रशस्त प्रकाश पारिएको छ । नेपालको भूमिमा उद्‍भव एवं विकास भएको मानिने शिव‚ जनक‚ बुद्ध‚ किरात र बोन सभ्यतामा योगको विशिष्ट स्थान रहेको छ । यम‚ नियम‚ आसन‚ प्राणायाम‚ प्रत्याहार‚ धारणा‚ ध्यान र समाधिलाई योगका आठ सोपान अर्थात् अष्टाङ्ग योग नामाकरण गरिएको छ । हाम्रो सामाजिक र सांस्कृतिक जीवनशैलीसँग जोडिएका वास्तुकला‚ चित्रकला र मूर्तिकलामा योगको प्रत्यक्ष उपस्थिति पाइन्छ । त्यसैले योगलाई हाम्रो शिक्षाको अङ्गका रूपमा विकास गर्दै यसबारे हुने अध्ययन अनुसन्धानलाई थप सुदृढ बनाउँदै लैजानु पर्ने आवश्यकता छ ।

अन्तमा‚ भौतिक विकासबाट प्राप्त हुने मानवीय खुसीलाई योगाभ्यासबाट प्राप्त हुने सकारात्मक उर्जासँग जोड्दै सुखी‚ समुन्नत र शान्तिपूर्ण समाज निर्माण गर्न सबैलाई सफलता प्राप्त हुनेछ भन्ने  विश्‍वास सहित अन्तर्राष्ट्रिय योग दिवसको शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७९ साल असार ७ गते‚ मङ्गलबार ।