सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले चौथो राष्ट्रिय महिला अधिकार दिवस, २०७९ को अवसरमा दिनु भएको शुभकामना सन्देश

चौथो राष्ट्रिय महिला अधिकार दिवस, २०७९ को शुभकामना सन्देश

चौथो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । लैङ्गिक समानता प्राप्तिको आन्दोलनमा योगदान र प्रेरित गर्ने सम्पूर्ण अग्रजहरूप्रति यस अवसरमा हार्दिक सम्मान प्रकट गर्दछु  ।

वि.सं. २०६३ साल जेठ १६ गते प्रतिनिधिसभाद्वारा महत्त्वपूर्ण चारवटा ‘विशेष प्रस्ताव’ सर्वसम्मतिले पारित गरी नेपाली महिलाको अधिकार सुनिश्‍चित गर्ने आधार निर्माण गरिएको स्मरण स्वरूप आजको दिनलाई हामीले राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउँदै आएका छौं । उक्त विशेष प्रस्तावलाई तत्कालीन अन्तरिम संविधानले आफ्नो अङ्गको रूपमा ग्रहण गरेको थियो भने वर्तमान संविधानले त्यसलाई थप संस्थागत र सुदृढ गरेको छ । यसै सन्दर्भमा‚‘महिला सम्मानः सभ्य समाजको पहिचान’ भन्ने मूल विषयका साथ विभिन्न कार्यक्रमहरूको आयोजना गरी चौथो राष्ट्रिय महिला अधिकार दिवस मनाउँदैछौँ ।

लैङ्गिक समानताका लागि भएका विभिन्न आन्दोलन‚ सामाजिक जागरण एवं सचेतना अभिवृद्धिको परिणामस्वरुप संवैधानिक, कानुनी र संरचनागत व्यवस्थाहरू गरिएपछि राज्यका निकाय तथा सार्वजनिक क्षेत्रमा महिला सहभागिता क्रमश: वृद्धि हुँदै गएकोछ । यद्यपि एकतिहाई महिला सहभागिताको संवैधानिक प्रावधानलाई व्यवहारमा उतार्न राज्यका सबै अङ्गहरूका साथै राजनीतिक दलहरूले विशेष ध्यान दिनुपर्ने मैले ठानेको छु ।

महिलाको क्षमता, श्रम, सीप र सिर्जनालाई मुलुकको विकास प्रक्रियामा सदुपयोग गरी स्रोत, साधन र अवसरमा समान पहुँचको माध्यमबाट संविधानले परिलक्षित गरेको लैङ्गिक समानताको उद्देश्य हासिल गर्न सकिन्छ । राष्ट्रिय जीवनका सबै क्षेत्रमा महिलाको समान‚ अर्थपूर्ण र सम्मानजनक सहभागिता प्रत्याभूति गराउन पुरुष र महिला दुवैको सक्रिय भूमिका रहनु पर्दछ । नीति निर्माण एवं निर्णय प्रकियामा महिला सहभागिता अभिवृद्धि गर्दै आर्थिक सशक्तीकरणका माध्यमबाट सामाजिक न्यायसहितको राष्ट्रिय समृद्धि हासिल गर्न सबैको सामुहिक क्रियाशीलताका लागि आह्वान गर्दछु ।

विभिन्न नीतिगत एवं कार्यक्रमिक प्रयासहरू हुँदाहुँदै लामो समयदेखि हाम्रो समाजमा विद्यमान पुरातन सोचका कारण महिलाहरू सामाजिक‚ सांस्कृतिक‚ शैक्षिक‚ राजनीतिक एवं आर्थिक रूपमा अझै पछाडि छन् । फलस्वरुप संविधान र कानुनद्वारा प्रदत्त महिलाका अधिकारहरू पूर्ण रूपमा व्यवहारमा कार्यान्वयन गर्ने कार्यमा चुनौतिहरू कायमै छन् । कार्यथलो, शैक्षिक संस्था‚ सार्वजनिक स्थल र घर–समाजमा नै महिला तथा बालबालिकाहरूलाई पूर्ण रूपमा सुरक्षित गर्न सकिएको छैन । बालविवाह‚ बहुविवाह‚ दाइजो तथा तिलक प्रथा‚ छाउपडी‚ बोक्सीको आरोप लगायत महिलाद्वेषी सामाजिक सांस्कृतिक प्रथा र परम्पराका साथै हत्या‚ बलात्कार र एसिड आक्रमण जस्ता जघन्य हिंसा आजको परिवेशमा समेत कायम रहनु अत्यन्त दु:खद् कुरा हो । यसको निराकरणका निम्ति कानुनको प्रभावकारी कार्यान्वयन‚ आवश्यकताअनुसार कानुनमा सुधार‚ अभिभावक‚ शैक्षिक संस्थाका साथै कार्यथलोका व्यवस्थापक‚ सञ्चालक लगायत सरोकारवाला बिच व्यापक रूपमा सचेतनामूलक अभियान सञ्चालन गर्न आवश्यक  छ । यसका साथै महिलाको शैक्षिक एवं आर्थिक सशक्तीकरणबाट समग्र समाजको सांस्कृतिक रूपान्तरणका लागि समेत हामी सबैले निरन्तर प्रयास जारी राख्नु पर्दछ भन्ने मलाई लागेको छ ।

अन्तमा, यस दिवसले सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तन ल्याउँदै नेपाली महिलाको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी लैङ्गिक समानतायुक्त सभ्य‚ सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७९ जेठ १६ गते, सोमबार ।