सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०७९ को शुभकामना सन्देश

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय  दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त
गर्दछु ।

वि.सं. २०६३ साल जेठ २१ गतेका दिन नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो ।  सोही दिनको सम्झनामा प्रत्येक वर्ष जेठ २१  गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’का रूपमा हामीले मनाउँदै आएकाछौँ । सबै जातजाति र समुदाय बीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन आजको दिवसले सबैलाई अभिप्रेरित गर्नेछ भन्ने मलाई लागेको छ ।

नेपालको संविधानले सबै जातजाति, भाषाभाषी‚ वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प  गरेको छ । संविधानको यस मर्मलाई आत्मसात् गर्दै जातीय विभेद र छुवाछुतलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरी सजायको कानुनी व्यवस्था समेत गरिएको छ । तथापि, समाजमा विद्यमान विभेदकारी पुरातन सोच, आर्थिक  विषमता एवं न्यून चेतनाका कारणले गर्दा जातीय भेदभाव तथा छुवाछुत प्रथा अझै पनि अन्त्य हुन सकिरहेको छैन ।

जातीय विभेद तथा छुवाछुत प्रथा मानव सभ्यताको कलङ्क हो । यो सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो । हाम्रो समाजबाट यस प्रथाको समूल अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील रहन म स्थानीय तह‚ प्रदेश तथा संघीय सरकार‚ सुरक्षा निकायका साथै राजनीतिक दल, नागरिक समाज‚ सामाजिक संघ संस्था र सञ्चारकर्मीहरूमा  हार्दिक आव्हान गर्दछु ।

अन्तमा, जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसबाट रुढिवादी सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा जातीय भेदभाव र छुवाछुतरहित समतामूलक‚ सभ्य र समुन्नत राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७९ जेठ २१ गते शनिबार ।