सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सीता जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

सीता जयन्तीको शुभकामना सन्देश

राजर्षि जनककी छोरी एवं नेपालभूमिकी गरिमामयी पुत्री, राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्राचीन मिथिलाको केन्द्र मानिएको जनकपुरसहित देशभरिका राम–जानकी मन्दिरहरूमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजा–अर्चना सहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । त्रेता युगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन बाल्मीकि रामायण र पुराणहरूमा गरिएको छ ।

माता सीताको आदर्शबाट प्रेरित वैदिक समाज र त्यस बखतको राज्य सञ्चालन प्रक्रियामा मातृशक्तिको  भूमिकाले हाम्रो समृद्ध प्राचीन सभ्यताको परिचय दिन्छ । युगहरू व्यतीत भएपछि इतिहासका कतिपय पक्षहरू वर्तमानका परम्परा वा संस्कृतिमा रुपान्तरण हुन्छन् । वैदिक सभ्यताका धेरै मानक ग्रन्थमा सीता उत्पत्तिका कथाहरू पाइएको हुनाले माता सीताको जन्म हाम्रो पौराणिक तथा सांस्कृतिक विश्‍वासको धरोहरका रूपमा रहिआएको  छ । सनातन संस्कृतिमा नारी शक्तिको महत्त्व दर्शाउने पर्वका रूपमा सीता जयन्तीलाई हामीले ग्रहण गर्नु पर्दछ ।

जानकी‚ वैदेही‚ जनकनन्दिनी लगायत सीताका अन्य धेरै नामहरूलाई श्रद्धापूर्वक लिइने गरिएको छ । एक वीराङ्गनाका रूपमा समेत परिचित जनकनन्दिनी सीतासँग कैयन् शूरवीरले समेत उचाल्न नसक्ने भीमकाय शिवधनुलाई आफू बालिका छँदै सजिलै उठाउन सक्ने असाधारण क्षमता रहेको जनविश्वास छ । आदर्श नारीका रूपमा सम्मानित माता सीता मिथिलाभूमि नेपालकी सुपुत्री  हुनु हामी सबैका लागि गौरवको विषय हो ।

अन्तमा‚ सीता जयन्तीको यस पावन दिवसले लैङ्गिक असमानता लगायत सबै प्रकारका सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील‚ सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७९ साल वैशाख २७ गते  मङ्गलबार ।