सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २५६६औँ बुद्ध जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

२५६६औँ बुद्ध जयन्तीको शुभकामना सन्देश

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६६औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

वैशाख शुक्ल पूर्णिमाका दिन गौतम बुद्धको जन्म¸ ज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रि-संयोग पर्ने भएकाले यस दिन विश्‍वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ ।

सम्पूर्ण मानव सभ्यतालाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय हो । आत्मचिन्तन‚ जीवनको भोगाई र अनुभवबाट प्राप्त ज्ञानलाई विशिष्ट दर्शनका रूपमा विकास गरी मानवीय दु:ख निवारणको बाटो पहिल्याउने द्रष्टाका रूपमा गौतम बुद्धको अद्वितीय स्थान छ । नेपाली भूखण्डमा प्राचीन कालदेखि नै ज्ञान र चिन्तन परम्पराको उच्च स्थान रहेको तथ्यलाई बुद्धका विचारले स्पष्ट पार्दछन् ।  बुद्धका उपदेशको पालना एवं अनुसरण गरी हरेक व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजान सकिन्छ । तसर्थ, समकालीन विश्वमा गौतम बुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्न गएको छ ।

प्राचीन बौद्ध सभ्यताको उद्‍गम स्थल भएको हुनाले नेपालसमक्ष बौद्ध दर्शनसम्बन्धी अध्ययन र अनुसन्धानको संस्थागत विकास गर्ने ठूलो अवसर विद्यमान छ‚ जसको हामीले समुचित उपयोग गर्नु पर्दछ । मुलुकभर छरिएका चैत्य‚ गुम्बा‚ विहार एवं बौद्ध धर्मसम्बन्धी सांस्कृतिक तथा पुरातात्त्विक स्थलहरूको उचित विकास र संरक्षणमा सम्बद्ध पक्षले विशेष ध्यान पुर्‍याउनु आवश्यक छ । साथै‚ बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको केन्द्रका रूपमा विकास गर्ने सुदृढ राष्ट्रिय सङ्कल्पका लागि समेत आजको दिनले हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मलाई लाग्दछ ।

अन्तमा‚ गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक¸ सामाजिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्‍भाव¸ सहिष्णुता र बन्धुत्वको  भावना अभिवृद्धि गराई वृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन म सबैमा हार्दिक आह्वान गर्दछु ।

धन्यवाद ।

२०७९ जेठ २ गते सोमबार ।